राष्ट्रिय सभामा वामदेवदेखि काजी र वेदुरामदेखि यमी



काठमाडौं : राष्ट्रियसभा सदस्यहरुको रिक्त हुन गैरहेको स्थानमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, वेदुराम भुसाल र हिसिला यमीसम्मको चर्चा चलेको छ । प्रतिनिधि सभाको निर्वाचनमा पराजय बेहोरेपछि हाल भूमिकाविहीनजस्तै देखिएका यी नेताहरु राष्ट्रिय सभाका लागि लाइन लागेर उभिन पुगेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउने शर्त स्वीकार्य भएमात्र आफू राष्ट्रियसभामा जाने अडान राखेका वामदेव गौतमले आशय अनुसारको संकेत पाएपछि ढुक्क भएर निर्वाचनको कुरिरहेका छन् । उता नारायणकाजी श्रेष्ठ आफूनिकटहरुसँग पाए प्रधानमन्त्री नपाए उपप्रधानमन्त्री भए पनि हुनका लागि होस्टेममा हैंसे गरिदिन अनुरोध गरिरहेका छन् ।

यसअघि रामबहादुर थापा ‘बादल’का लागि आफू पछि हटिदिएका नेता बेदुराम भुसाल अहिलेको राष्ट्रिय सभा सदस्यका लाइनमा छन् । यसपाली उनी कुनै पनि हालतमा पछि हट्नु पर्ने र अर्काको लागि छोडिदिनु पर्ने समस्या आइनलाग्नेमा ढुक्क देखिन्छन् ।

संघीय समाजवादी दलकी नेतृ हिसिला यमी पार्टीभित्रको शक्तिसन्तुलन मिलाई खुट्टा उचालेर पर्खेकी छिन् । सरकार छोड्न ढिलाइ गर्नै नहुने प्रस्ताव गर्दै आएका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई हिसिला यमीलाई राष्ट्रिय सभामा लैजाने उपेन्द्रको प्रस्ताव आएपछि सरकार छाड्ने भन्ने कुरा नै बिर्सिइसकेका छन् ।

यसैबीच राष्ट्रियसभा सदस्यहरुको पदावधि सकिनु अगावै निर्वाचन गरिसक्नु पर्ने कानुनी प्रावधान अनुसार माघ ७ गते नयाँ सदस्यहरुको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ । यो अवधिमा एकतिहाई सदस्यको पदावधि समाप्त हुन लागेको छ ।

यसका लागि संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० मा समाप्त हुन लागेकाले निर्वाचन गरिदिनका लागि निर्वाचन आयोगलाई पत्र पठाएर अनुरोध गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था गरिएको छ । तदनुरुप माघ १५ गतेभित्र चुनाव गरिसक्नुपर्ने छ ।

यही कानुनी सीमाअनुसार आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन आयोगले जनाइसकेको छ । आयोगले सोको आधिकारिक जानकारी राजनीतिक दल र सरकारलाई पठाउने तयारी गरेको पनि बताएको छ ।

आन्तरिक तयारीका हिसाबले निर्वचन आयोगले माघ ७ गते राष्ट्रियसभा सदस्यको चुनावको प्रस्ताव गर्ने भनिए पनि आयोगको परामर्शमै मन्त्रिपरिषद्ले निर्वाचन तिथिमिति तय गर्ने कानूनी व्यवस्था रहेको छ । निर्वाचन आयोग र मन्त्रीपरिषदको सहजताका लागि माघ ७ देखि १० गतेभित्रको समय निर्वाचनका लागि उपयुक्त हुने देखिन आउँछ ।

संघीय संसदको बैठक सुरु भएको दुई वर्ष पूरा भएसँगै फागुन २० गते निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित तीनजनामध्ये अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिदै छ । गोलाप्रथाबाट मनोनित रामनारायण बिडारीको चार वर्ष र विमला पौड्यालको ६ वर्ष कार्यकाल भएकाले उनीहरु कायमै रहने छन् ।

विभिन्न क्लस्टरअनुसार निर्वाचित सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल समाप्त हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्