भरतपुर विमानस्थल बुधबारदेखि नियमित सञ्चालनमा



काठमाडौं : केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल (पर्सि) बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका लागि यही मङ्सिर १५ गतेदेखि १० दिनका लागि विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको प्रवेशद्वार अगाडि ठूलो अक्षरमा लोगो र भ्रमण वर्ष २०२० अङ्ग्रेजी अक्षरमा लेखिएको छ । सँगै नौ वटा झण्डा फहराइएको छ । बीचमा राष्ट्रिय झण्डा, छेउछेउमा दुई वटा भ्रमण वर्ष अङ्कित झण्डा र अरु विभिन्न रङका झण्डा फहराएर सुन्दर बनाइएको छ ।

गौतमका अनुसार चितवनका पाँच र नवलपुरका दुई रोटरी क्लबले नफुट्ने सिसामा चितवन र आसपासका क्षेत्रका पर्यटकीय गन्तव्य देख्ने गरी आकर्षक ‘होर्डिङ बोर्ड’ राख्ने भएका छन् । मानस्थलभित्र यहाँका पर्यटकीय गन्तव्य र दुर्लभ वन्यजन्तुका चित्र निर्माण गर्ने तयारी गरिएको छ ।

गौतमले भने, “नयाँ रङरोगनसहितको धावनमार्ग र जहाजबाट झर्नासाथ भ्रमण वर्षको स्वागतले जो कोहीलाई आकर्षित बनाउनेछ ।” चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । वर्षेनी दुई लाख हाराहारी पर्यटक यहाँ आउने गर्दछन् । भ्रमण वर्षमा यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्