कलंकी-महाराजगञ्ज सडक विस्तार फाल्गुनबाट



काठमाडौं : राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काम तीव्र रुपमा भइरहेको छ । मार्चको अन्तसम्म विस्तारको काम सुरु गर्नेगरि आन्तरिक तयारी गरिएको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । दोस्रो चरणअन्तर्गत कलंकी–महाराजगञ्ज र कोटेश्वर–तिलगंगा सडकखण्ड विस्तार गर्न लागिएको हो ।

सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्णरूपमा खाली अर्थात ‘साइट क्लियर’ गरेर विस्तारको काम सुरु गरिने महाशाखाको भनाइ छ । जसअन्तर्गत मार्चको अन्त्यसम्ममा बिजुली पोल, रुख र खानेपानी ढललगायतका अन्य अवरोध हटाएर सिमांकन गरिने जनाइएको छ ।

साइड क्लियरियन्स गरेरमात्र सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना चिनियाँ पक्षको माग छ । कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइड क्लियर’ खाली हुनुपर्ने चिनियाँ पक्षको भनाइ छ । हाल विजुलीका पोल, ढल, रुख कटानलगायतको साइड क्लियरियन्सको काम तीव्र गतिमा भइरहेको महाशाखाको भनाइ छ ।बिजुलीको पोल सार्नको लागि १० करोड ७२ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई सम्बन्धित पक्षले बुझाइसकेको छ ।

कंलकी–महाराजगञ्ज खण्ड चीन सरकारले अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । नेपालले निर्माणका लागि साइट क्लियर गरेसँगै चीनले ठेकेदार छनोट गरी काम थाल्ने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

प्रमुख थापाले भने, ‘कलंकी–कोटेश्वर खण्डमा सडक साइट क्लियर नगरीदिँदा तीन वर्षमा सकिने काम ५ वर्ष लागेको भन्दै चीनले यसपटक हामीले क्लियर गरेर दिएमा दुई वर्षमै निर्माण सक्ने जनाएको छ ।’ कलंकी–महाराजगञ्ज खण्डको साढे आठ किलोमिटर क्षेत्रभित्र निर्माण भएका संरचना हटाएर फागुनसम्ममा चीन सरकारलाई हस्तान्तरण गर्ने तयारीमा महाशाखा रहेको थापाको भनाइ छ ।

कूल ६२ मिटर चौडाइमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २–२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक–एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ ।

साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाइ कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । काराेबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्