४४ औं दीक्षान्त समारोह : स्वर्ण पदक पाउनेमा छात्रा धेरै



काठमाडौं : त्रिभुवन विश्वविद्यालयले ४४ औं दीक्षान्त समारोहमा २९ स्वर्ण पदक वितरण गर्‍यो । एकै विद्यार्थीले तीनवटासम्म स्वर्ण पाए । त्यसैले स्वर्ण विजेता विद्यार्थीको संख्या भने २३ मात्रै रह्यो । तीमध्ये १४ जना छात्रा हुन् भने नौ छात्र ।

स्वर्ण पाउने मध्येकी एक चितवनस्थित रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले स्नातकोत्तर तहतर्फका सर्वोत्कृष्ट तीन स्वर्ण पदक हात पारिन् । सुलोचनाले ‘चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामदास मानन्धर स्वर्ण पदक पाइन् ।

झापाको दमक बहुमुखी क्याम्पसकी दुर्गा अर्यालले पनि एमबीएसमा उत्कृष्ट अंक ल्याएर दुई वटा स्वर्ण पदक हात पारिन् । विशिष्ट श्रेणीसहित ७५ प्रतिशत अंक ल्याएकी अर्यालले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार पाइन् ।

स्नातकोत्तर तहमा स्वर्ण पदक पाउने छात्रामा अल्का श्री श्रेष्ठ, विन्दा श्रेष्ठ, अनिशा भट्टराई, रश्मी थापा, अभिलासा न्यौपाने, सरिता गौतम र मन्दिरा दुलाल छन् । स्नातक तहमा स्वर्ण पदक पाउने छात्रामा स्वेच्छा जोशी, प्रभा त्रिपाठी, प्रतीक्षा पौडेल, विनिता महर्जन र लीना महर्जन छन् ।

एमफिलमा जनप्रशासन केन्द्रीय विभागका छात्र नेत्रप्रसाद सुवेदीले स्वर्ण पाए । स्नातकोत्तर तहमा छात्रमा निर्देश सिलवाल, रामबाबु सापकोटा, राजु श्रेष्ठ र महेश आचार्य तथा स्नातक तहमा राजेश पनेरु, नरेश सुवेदी, सन्तोष खत्री र संघर्ष गाउँले क्षेत्रीले पनि स्वर्ण पाए ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्न विश्वविद्यालयले विभिन्न व्यक्ति र संस्थाको नाममा पुरस्कार स्थापना गरी पदक वितरण गर्दै आएको छ । एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेकालाई पदक वितरण गरिन्छ ।

त्रिविको दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा आयोजना गरिएको थियो ।

त्रिविबाट एक वर्षमा विभिन्न तह उत्तीर्ण गरेका ७४ हजार दुई सय ८४ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले त्यही समारोहबाट दीक्षित भएको घोषणा गरे । उनले स्वर्ण पदक हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्