उपेन्द्रले टाउको हल्लाउँदा वैदिकको ढोका बन्द



काठमाडौं : सर्वोच्च अदालतमा रिक्त रहेको एक न्यायाधीश नियुक्तिका लागि भनेर डाकिएको न्याय परिषद्को बैठक बिनाटुंगो सकिएको छ । न्यायपरिषदकै एक जना सदस्य पदम वैदिकलाई उक्त रिक्त स्थानमा नियुक्ति गर्न भन्दै सो बैठक बोलाइएको थियो ।

तर उक्त कुरालाई लिएर बैठकमा भाँडभैलो नै मच्चिन पुग्यो । कानुनमन्त्री उपेन्द्र यादव नै यसको विपक्षमा देखिए । परिषदका सदस्य दीपककुमार कार्की पनि उनको नियुक्तिको विरोधमा उत्रिए । यसले गर्दा वैदिकको न्यायाधीश नियुक्ति सिफरिस प्रक्रिया रोकियो ।

आफू सर्वोच्च अदालतको न्यायाधीशका लागि नियुक्त हुने कुरा राजनीतिक तहमा पक्कापक्की भएपछि बुधबारमात्र वैदिकले परिषदको सदस्यबाट राजीनामा दिएका थिए । विश्वस्तताको वातावरणपछि उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

वैदिकलाई सिफारिस गराएर न्यायाधीशका रुपमा भित्र्याउन त्यहाँ पुगेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा रित्तो हात फर्किएका थिए । वैदिक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोटामा सर्वोच्चमा पुग्दै थिए । परिषद स्रोतका अनुसार वैदिकलाई न्यायाधीश बनाउने प्रस्ताव परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले प्रस्ताव गरेका थिए ।

अर्को बैठक बस्ने टुंगो समेत नगरी न्यायपरिषदको बैठक सकिएको छ । यसैबीच न्यायपरिषद बैठकसँगै हुटिङ गरिरहेको बारले ‘सम्मान र मर्यादा कायम राखौं’ भन्दै विज्ञप्तिसमेत जारी गरेको छ ।

नेपाल बारले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘न्यायपरिषदको सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिवृद्धि गर्ने कुरामा न्यायपरिषदका सदस्य जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आफै सर्वोच्चको न्यायाधीश बन्न कोसिस गरिराखेको भन्ने व्यहोराका समाचारप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण भएको छ । परिषदका सदस्य आफूले आफैंलाई न्यायाधीश बनाउन लविङ गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिन्न ।’

प्रतिक्रिया दिनुहोस्