रुसका राष्ट्रपतिदेखि भारतीय प्रधानमन्त्रीसम्मलाई अप्रिलमा नेपाल भ्रमण गराउन सरकारको यस्तो छ तयारी



काठमाडौं : अहिले मुलुकका शक्तीशाली राष्ट्रका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने चर्चा चलिरहेको छ । केही समय अघिसम्म लो प्रोफाईलमा रहेको नेपाल अहिले विश्वमञ्चमा हाई प्रोफाईलका साथ अघि बढ्दैछ ।

केही समयअघि चीनका राष्ट्रपति सी जिनफिङले नेपाल भ्रमण गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराएको नेपालले त्यसको केही दिनमै बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण गराउन सफल भयो । यससँगै विदेशी अधिकारीहरु नेपाल आउने क्रम बढेको छ ।

यसले यो सरकारको अन्तर्राष्ट्रिय जगतमा उपस्थिति बलियो र प्रभावकारी बन्दै गएको पुष्टि गर्दछ । यसैबीच सरकारले अर्को शक्तिशाली राष्ट्र रुसका राष्ट्रपतिदेखि युरोपियन युनियनका सरकार प्रमुखहरु हुँदै भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी गरेको छ ।

केही समय अघिसम्म लो प्रोफाईलमा रहेको नेपालले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय तहमा संलग्नता, सहभागिता र सक्रियता देखाउन थालेको परिदृश्य उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निकट भविष्यमा विभिन्न राष्ट्रका उच्च तहबाट नेपाल भ्रमण हुने कुरामा आशावादी रहेको बताए । केही समयअघि रुस भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि बताएका छन् ।

छिमेकी देश चीनबाट त्यँहाका राष्ट्रपतिले नेपाल भ्रमण गर्न २३ वर्ष पर्खिनुप¥यो । नेपालका प्रधानमन्त्रीलाई बेलायत भ्रमणमा जान १८ वर्ष लाग्यो । त्यस्तै फ्रान्सको भ्रमणमा जान पनि नेपालका प्रधानमन्त्रीले १८ वर्ष कुर्नुप-यो ।

अमेरिकाका विदेशमन्त्रीसँग नेपालका परराष्ट्रमन्त्रीले भेट गर्न १७ वर्ष लाग्यो । ओली सरकार बनेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अवस्था बदलिएको छ ।

अहिले परराष्ट्रमन्त्रालयले आगामी अप्रिलमा हुने सगरमाथा संवादमा रुसका राष्ट्रपतिदेखि क्यानडाका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री समेतलाई सहभागी गराउने गरी आवश्यक तयारीलाई तीव्रता दिएको छ ।

जलवायु परिवर्तनको विषयमा नेपाल सरकारले गर्न लागेको यो सगरमाथा संवादले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी ढंगले पहिचान दिलाउने विश्वास सरकारले लिएको छ । उच्च स्तरको यस कार्यक्रममा नेपालले १५ देशका प्रमुख र ४० देशका उच्चस्तरीय राजनीतिक अधिकारीलाई निमन्त्रणा दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १५० भन्दा बढी विदेशी विज्ञ र ५० नेपाली विज्ञ सहभागी हुने जलवायु परिवर्तनसम्बन्धी एजेण्डामा सगरमाथा संवादमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्