सरकारले आन्दोलन निम्त्याएको देउवाको आरोप



काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले आफूहरूलाई आन्दोलनमा निम्त्याएको बताएका छन् ।

 

४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले संविधान बनेपछि यसको कार्यान्वयन गर्दै देशमा विकास र समृद्धि चाहे पनि सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाए ।

 

‘मेलमिलापको सान्दर्भिकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । तर, सरकारले मेलमिलाप होइन, तानाशाही लाद्न खोजेको छ । कर्मचारीविरुद्ध अध्यादेश ल्याइएको छ । पुलिस, सेना सबैतिर हस्तक्षेप गर्न सरकार उद्यत छ,’ देउवाले भने, ‘हामी स्वतन्त्र न्यायपालिका, तटस्थ ब्युरोक्रेसी, सेना र प्रहरी चाहन्छौँ, तर सरकार अधिनायकवादी बाटोमा अघि बढेको छ ।

 

यस्तो हुँदा अब सरकारले नै आन्दोलनका लागि निम्त्याएको छ ।’ आफ्नो नेतृत्वमा निर्वाचन भएर संविधानको स्वीकार्यता बढेको भन्दै देउवाले सबै मिलेर जानुपर्नेमा सरकारले सबै क्षेत्रमा तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए । ‘संविधान च्यातिँदा, फालिँदा मैले सबैलाई निर्वाचनसम्म ल्याएँ,’ उनले भने ।

 

 ‘देउवापौडेल डिप लभको देशभर खोजी

कांग्रेस युवा नेता गगन थापाले महासमिति समापन कार्यक्रममा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबाट व्यक्त भएको ‘डिप लभ’ मा कार्यकर्ताले भरोसा गरेको बताए । ‘महासमिति समापन कार्यक्रममा सभापति र नेताद्वयले आफूहरूबीच डिप लभ भएको बताउनुभएको थियो । उहाँहरूबीचको गहिरो प्रेम अझै फैलियोस् भनेर देशभरका नेता कार्यकर्ताले खोजी गर्न थालेका छन्,’ थापाले भने, ‘अब उहाँहरूबीच प्रेम मात्रै भएर पुग्दैन, प्रेमसँगै पद्धति पनि चाहिन्छ । प्रेमको जस्तो भावना र विवाहको जस्तो सम्बन्ध नेताहरूमा भए अब कसैले पनि कांग्रेस हल्लाउन सक्दैन ।’

 

नेता नरहरि आचार्यले आज पनि बिपी कोइरालाले देखाएको मेलमिलापको नीति उत्तिकै सान्दर्भिक रहेको बताएको नयाँ पत्रिकामा खवर छ । ‘बिपीले राजासँग मात्रै एकता र मेलमिलाप भन्नुभएको होइन,’ आचार्यले भने, ‘नेपालका परिवर्तनकामी शक्तिबीच पनि एकता र मेलमिलाप हो । हामीले सबैलाई साथमा लिएर संविधान बनाएका हौँ । अहिले पनि देशमा मेलमिलापको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्