अब वामदेवको रोलनम्बर कति हुने ?



काठमाडौं : नेकपाले पार्टीभित्र उपाध्यक्ष पद सिर्जना गर्नकै लागि सोमवार बसेको सचिवालय बैठकले पार्टी विधान संशोधन गरेको छ । संशोधित पार्टी विधानअनुसार उपाध्यक्षको पदमा वामदेव गौतम रहने भएका देखिन्छन् । पार्टीमा उपाध्यक्षको पद सिर्जना गरिने र त्यसमा वामदेव गौतमलाई नै लगिने भनी यसअघि नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वचन दिइसकेका छन् ।

संशोधित विधानअनुसार सिनियर अध्यक्ष ओली एक नम्बरमा, अर्का अध्यक्ष दाहाल दुई नम्बरमा, उपाध्यक्ष वामदेव गौतम तीन नम्बरमा, वरिष्ठ नेता झलनाथ खनाल ४ नम्बरमा हुने भएपछि अर्का वरिष्ठ नेता माधवकुमार नेपालको स्थान पाँचौ नम्बरमा पर्न गएको छ ।

वरियताक्रमलाई निकै ख्याल गरिने सत्तारुढ नेकपामा उपाध्यक्षको पद सिर्जना गरिँदा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल थप एकेक स्टेप तल झर्न पुगेका छन् । नेता नेपाल अर्का नेता झलनाथ खनालको वरियता दाबीसँगै यसअघि पनि एक स्टेप तल पर्न पुगेका थिए ।

सोमबार बसेको नेकपा सचिवालय बैठकको निर्णयले नेपाललाई अर्को गतिलै झड्का दिनपुगेको छ । यद्यपि सचिवालयको पार्टी विधान संशोधनसम्बन्धी यो निर्णय प्रस्तावका रुपमा स्थायी कमिटी र केन्द्रीय समितिमा लैजान भने बाँकी नै छ ।

यसअघि वामदेव गौतमको वरियताक्रम पाँचौ स्थानमा थियो ।

प्रतिक्रिया दिनुहोस्