संसदमा एकैपटक एक सय १० कानुन



काठमाडौं: सरकारले एकैपटक ११० कानुन संसद्मा पेस गर्ने तयारी गरेको छ । संविधानसँग बाझिएका ३३९ कानुन संशोधन र परिमार्जन गर्ने क्रममा सरकारले एकैपटक यति ठूलो मात्रामा विधेयक सदनमा पठाउने तयारी गरेको हो ।

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० कानुन एकैपटक परिमार्जन गर्ने गरी मन्त्रिपरिषद्मा विधेयकको मस्यौदा दर्ता गराएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरी संसद् सचिवालयमा दर्ता गरेपछि सदनमा यी विधेयकले प्रवेश पाउनेछन् ।

 

संविधानले तोकेअनुसार २१ फागुनभित्रै सबै कानुन परिमार्जन गर्नका लागि कानुन मन्त्रालयले छोटो बाटो अपनाएको छ । कानुनमन्त्री भानुभक्त ढकालका अनुसार प्रत्येक कानुनलाई छुट्टाछुट्टै पेस गर्नुभन्दा एकैपटक पेस गर्दा छलफल गर्न सहज हुने भएकाले यस्तो गरिएको हो । ‘यसले संविधानअनुसार परिमार्जन गर्नुपर्ने अधिकांश कानुन समेट्नेछ,’ उनले भने, ‘संसद्मा पर्याप्त छलफलका लागि यो छोटो बाटो अपनाइएको हो ।’

 

छुट्टाछुट्टै विधेयकका मस्यौदा बनाएर लैजानुभन्दा केही विषय मात्रै संशोधन गर्नुपर्ने कानुनका हकमा भने एकसाथ ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ सदनमा दर्ता गराइसकिएको छ । सरकारले दर्ता गराएको यो विधेयकले संविधानअनुसार परिमार्जन गर्नुपर्ने ५६ वटा कानुनलाई समेटेको छ ।

 

संसद्मा दर्ता भएको यो विधेयक सदनमा प्रस्तुत हुनेक्रममा रहेको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जनाकारी दिए । उनका अनुसार यसरी आएका विधेयकलाई प्राथमिकता हेरेर सदनमा क्रमशः पेस गरिनेछ ।

 

विभिन्न मन्त्रालयले तयार पारेर राय माग गर्न कानुन मन्त्रालयमा पेस गरेका १६ वटा विधेयकको मस्यौदामा सहमति जनाएर सम्बन्धित मन्त्रालयमा नै फिर्ता गरिएको छ । विभिन्न मन्त्रालयले ती १६ विधेयकका मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका छन् । विभिन्न मन्त्रालयले राय माग गर्न कानुन मन्त्रालयमा पेस गरेका १८ विधेयकका मस्यौदामा छलफल गरिहेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्