नाम फेरेर अपराधबाट जोगिने प्रयास



काठमाडौं : आपसी विवादमा साथीको हत्या गरी फरार रहँदै आएका व्यक्ति पक्राउ परेका छन् । काभ्रेको खनालथोक स्थायी घर भई कपन बस्ने जितेन्द्र भनिने ज्ञानेन्द्र श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको हो । 

१७ वर्षअघि उनले काठमाडौंको पेप्सीकोलामा आफ्नै साथी विष्णु घिमिरेलाई फलामले हानेर हत्या गरेका थिए । त्यसयता फरार रहँदै आएका उनलाई प्रहरीले कपनबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार त्यतिवेला श्रेष्ठ स्कुलमा पढ्दथे । छिमेकी साथीहरूसँग उनको झगडा भएको थियो । होमवर्क नगरेकाले उनी स्कुल नगई भिडियो हेर्न गएका थिए । 

त्यहाँ अघिल्लो साता झगडा भएका साथीहरूलाई भेट्नेबित्तिकै उनलाई लखेटेका थिए । उनी काँडाघारीतर्फ भागे । चारजनाले लखेटेकोमा दुईजनाले ढुंगाले समेत हानेपछि आफूले निर्माणाधीनस्थलमा रहेको फलामको धारिलो वस्तुले घिमिरेलाई हानेको बताएका छन् ।

नाम परिवर्तन गरेर नागरिकता र पासपोर्ट

हत्यापछि उनी पेप्सीकोलास्थित घर गए । घर नजिकै लखट्नेमध्ये केही कुरेर बसेको देखेपछि घर छाडेको र विभिन्न ठाउँमा लुक्दै आएको उनले बताए । 

लुकिछिपी बस्दै आएका उनले आफ्नो नाम जितेन्द्रबाट ज्ञानेन्द्र बनाई सोही आधारमा नागरिकता र पासपोर्ट लिई केही वर्ष विदेश बसेका थिए । गत वर्ष मात्र उनी विदेशबाट फर्किएका थिए । 

पक्राउ पर्नेबित्तिकै उनले आफू हत्या गर्ने व्यक्ति नभएको बताएका थिए । पछि पढेको स्कुलबारे सोधपुछ सुरु गरेलगत्तै उनले घटनाको बेलीविस्तार लगाएर अपराध स्वीकार गरेका हुन् । स्कुलमा उनको नाम जितेन्द्र नै थियो । 

पछिल्लो समय उनी न्युरोडमा व्यापार गर्दै आएका थिए । सिआइबीले उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा बुझाएको छ । पक्राउ परेका श्रेष्ठले अपराध स्वीकार गरेको सिआईबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । 

लामो समय प्रहरीलाई झुक्याउन सफल भए पनि कुनै न कुनै दिन पक्राउ पर्ने डर रहेको उनले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्