७२ वर्षीया वृद्धाको लागि शौचालय नै घर बन्यो



एजेन्सी : भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ ।

उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । यसअघि यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए । अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् ।

‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए । मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्