शून्य डिग्रीमा जलवायु सम्मेलन



सिन्धुपाल्चोक : मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा । 

शून्य डिग्री सेल्सियस तापक्रममा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायबारे दुई दर्जनभन्दा बढी विषयविज्ञले कार्यपत्र पेस गर्नेछन् । 

जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभूत गर्दै देशभरिका जनप्रतिनिधिले ती कार्यपत्रमा बहस गर्नेछन् । सोमबार देशभरका जनप्रतिनिधिसँगै स्थानीय बासिन्दाको पनि घुइँचो लाग्यो, गुफाडाँडामा ।

दोर्जी लाक्पा हिमशृंखलाको सन्मुखमा रहेको यो स्थानमा लामाहरूले ध्यान गर्न गुफा बसेकाले कालान्तरमा गुफाडाँडा नाम रहेको स्थानीय बासिन्दाले बताए । केही वर्षयता पुसमा हिउँ परेको छैन यहाँ । 

नजिकै रहेको दोर्जी लाक्पा हिमशृंखलामा पनि हिउँ पात्लिएको छ । जलवायु परिवर्तनको असरले हिमशृंखला पनि कालोपत्थरजस्तै देखिन्छ । यस्तो दृश्य हेर्दै जलवायुको असरबारे छलफल गर्न ७७ वटै जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजक गुफाडाँडा पुगेका हुन् ।

ठूलो चौरमा सम्मेलनस्थल बनाइएको छ । सम्मेलनस्थल नजिकै उकालो बाटामा सबै जिल्लाका लागि एक÷एक राष्ट्रिय झन्डा गाडिएका छन् । 

सोमबार मध्याह्न १२ बजे यही सम्मेलनस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको संकेत गर्ने पृथ्वीको प्रतिमा अनावरण गरिन् । लगत्तै छेवैमा रहेको राष्ट्रिय झन्डा फहराइन् । 

राष्ट्रपति भण्डारीसँगै ७७ वटै जिल्लाका संयोजकले पनि राष्ट्रिय झन्डा फहराएर सम्मेलन उद्घाटनको सन्देश दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्