१ रुपैयाँको निर्यात, १६ रुपैयाँको आयात



काठमाडौं : नेपालले १ रुपैयाँको निर्यात गर्दा १६ रुपैयाँको आयात गर्ने गरेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी)का अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यात–आयात अनुपात १ः१६.२ पुगेको छ । अर्थात्, नेपालले आफूले गरेको निर्यातभन्दा १६ गुणा बढी मूल्यबराबरको आयात गरेको केन्द्रको तथ्यांक छ ।

पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ६ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँबराबर पुगेको छ । यो व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी हो । कुल व्यापारमा निर्यातको योगदान ५.८ प्रतिशत र आयातको योगदान ९४.२ प्रतिशत छ । 

समीक्षा अवधिमा नेपालको कुल निर्यात १२.३ प्रतिशतले बढेर ३७ अर्ब ५० करोड पुगेको छ । त्यस्तै, कुल आयात ३३.८ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । 

निर्यातको तुलनामा आयात वृद्धि उच्च भएका कारण व्यापार घाटा बढ्ने क्रम जारी रहेको केन्द्रले जनाएको छ । यस अवधिमा नेपालले कुल ५ खर्ब ६९ अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । 

कृषि वस्तुकै आयात १४ प्रतिशतले बढ्यो

नेपाल कृषि प्रधान मुलुक भए पनि कृषि वस्तुकै आयात बढ्दै गएको छ । रेमिट्यान्समा आधारित उपभोग प्रवृत्तिले कृषि वस्तुको आयात बढाएको केन्द्रको विश्लेषण छ । 

‘नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य वस्तुहरूको आयात समीक्षा अवधिमा करिब १४ प्रतिशतले वृद्धि भएको छ,’ केन्द्रले भनेको छ, ‘चालू आवको प्रथम पाँच महिनाको नेपालको कुल आयातको लगभग १५ प्रतिशत कृषिले ओगटेको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्