चिसोले पानी पाइपमै जम्यो, खानेपानीको अभाव



हुम्ला : अत्यधिक चिसोले सदरमुकाम सिमकोटका धारामा पानी आउन छाडेको छ । चिसोले खानेपानीको पाइपमा बरफ जम्दा घर–घरमा जडान गरिएका धारामा पानी आउन छाडेको हो । 

चिसोले हुम्लाको तापक्रम माइनस १७ डिग्रीमा झरेको छ । धारामा पानी आउन छाडेपछि सदरमुकाम सिमकोटवासी बिहान–बेलुका खानेपानीको जोहो गर्न नजिकैका मुग्रा धारामा जान थालेका छन् ।

खानेपानी धारामै जमेपछि स्थानीयले धारा र पाइपमा तातोपानी हालेर बरफ पगाल्ने गरेका छन् । धारामा बरफ जम्दा खानेपानीको अभाव हुन थालेको सिमकोट गाउँपालिका–४ का धर्मानन्द लामाले बताए । 

‘अत्यधिक चिसोले घरको खानेपानीको धारोमा बरफ जम्दा खानेपानीको समस्या भयो,’ लामाले भने, ‘पाइपमा पानी आउनै छाडेपछि पाइपमा तातोपानी हालेर बरफ पगालेर खाने गरेका छौँ ।’

सिमकोट गाउँपालिका–३ का कार्मा नाम्गेल लामाले धारोमा खानेपानी आउन छाडेपछि नजिकैको मुग्रा धारोमा गएर पानी ल्याउने गरेको बताए । सदरमुकाम सिमकोटमा निजी तथा सार्वजनिक गरी ४ सय ८५ वटा धारा जडान गरिएको छ । 

अहिले करिब तीन सय धारामा पानी आउन छाडेको सिमकोट खानेपानी तथा सरफाइ उपभोक्ता समितिले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्