पोखरी हडपेर ‘मिनी ठमेल’



काठमाडौं : भीमदास मानन्धरले देख्दा यो भव्य भवन बनेको ठाउँमा ठूलो पोखरी थियो । पोखरीमा पानी टिलपिल टिलपिल गरेको देखिन्थ्यो । माछा दौडिरहेका हुन्थे । पोखरीको बीचमा कमल फुल्थ्यो । ती फूल विक्रमशील महाविहारका सिंह सार्थबाहु भगवान्लाई चढाइन्थ्यो ।

पोखरीको पानीबाट भगवान्लाई दैनिक स्नान गराइन्थ्यो । त्यही पानीले पञ्चामृतसहितको स्नान गराइन्थ्यो ।

‘फूल चढाउने चलन हरायो । पञ्चामृतसहितको स्नान गर्ने चलन पनि हरायो,’ ७५ वर्षीय मानन्धर भन्छन्, ‘त्यो ठाउँ विस्तारै मासिँदै गयो । हुँदाहुँदा अहिले भव्य भवन बन्यो ।’ पोखरीको निकास कर्मचारी सञ्चयकोषको भवन बनाइएको ठाउँतिर थियो । त्यो अहिले छैन ।

स्थानीयवासीले हेर्दाहेर्दै यो ठाउँमा १५ तले ‘छायादेवी कम्प्लेक्स’ ठडिएको छ । भवनमा १ सय ६८ कोठा छन् । ५ अर्ब लगानीमा बनेको भवन एकै ठाउँमा सबै सुविधा भएको ‘मिनी ठमेल’ बनाउने लक्ष्यसहित बनाइएको हो । 

यहाँ ५ तारे होटल, सिनेमा हल लगायतका संरचना बनाउने लागेको छाया सेन्टरका निर्देशक सुमन पाण्डेले जानकारी दिए ।

२०७१ सालबाट कम्पलेक्स बनाउन सुरु गरिएको थियो । सार्वजनिक पोखरीमा कम्पलेक्स नबनाउन स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् । विरोध हुँदाहुँदै निर्माण अन्तिम चरणमा पुगेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारबाट उद्घाटन गराउने कार्यक्रम मंगलबार राखिएको थियो । चौतर्फी विरोध भएपछि अधिकारी उद्घाटन गर्न आएनन् । पोखरीमा कसरी भवन बन्यो, त्यसबारे छानबिन गर्ने आश्वासन दिएको मानन्धरले जानकारी दिए ।

१५ रोपनी जमिनमा फैलिएको छ भवन । त्यसमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको गुठियार तथा अनुसन्धानकर्ता भागवतनरसिंह प्रधान बताउँछन् ।

पोखरी मासिएपछि विहारका केही परम्परासमेत लोप भए । नेवार समुदायको प्रसिद्ध ‘गुँला पर्व’ को बेलामा पनि यो पोखरीको कमलको विशेष महत्त्व हुने गर्थ्यो । प्रधानका अनुसार गुँला दिनमा प्राज्ञपारमिता पाठ गरिन्छ । 

प्राज्ञपारमिता पाठ गर्दा यही पोखरीको कमलको पातमा ८४ व्यञ्जन चढाउने चलन थियो । ‘गुँलाका दिनमा काठमाडौंका चार विहारका बज्राचार्य यस विहारमा आइ प्राज्ञपारमिता पाठ गर्ने चलन अहिले पनि छ,’ प्रधान भन्छन्, ‘पोखरीमा फुलेको कमलको पातमा चौरासी व्यञ्जन चढाउने चलन भने हरायो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्