सामुदायिक वनलाई उत्पादनमुखी बनाइने



भरतपुर: प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेश नं ३ का सबै सामुदायिक वनलाई उत्पादनमुखी बनाइने बताएका छन् । 

 

चितवनको राप्ती नगरपालिका–४ स्थित शिखर हरियाली सामुदायिक वनको वार्षिक साधारणसभाको उद्घाटन गर्दे मन्त्री लामाले सामुदायिक वनलाई उत्पादनमुखी बनाउन कृषि मन्त्रालयले उत्पादनमुलक फलफुल रोप्ने अभियान सञ्चालन गरिरहेको बताए । उनले कृषि मन्त्रालयले फलफुल वर्ष अभियानअन्तर्गत विभिन्न सामुदायिक वनमा फलफुलका विरुवा रोपेको जानकारी दिए ।

 

शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले वनलाई पर्यात पर्यटन उद्यानका रुपमा विस्तार गर्न गुरुयोजनासँगै डिपिआर तयार पारिएको जानकारी दिए ।  उद्यानका लागि प्रदेश सरकारले चालू आवमा रु तीन करोड विनियोजन गरेको छ । पाँच सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा उद्यानका लागि १३ विघा जग्गा छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्