यसरी जन्मियो उत्तरअमेरिकी नयाँ व्यापार संगठन



काठमाडौं : अमेरिका, मेक्सिको र क्यानडाबीच युएस्एम्सीए नामक नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ । लगातार दुई वर्षसम्मको कठिन वार्ता र छलफलपश्चात् यो त्रिदेशीय व्यापार सम्झौता संभव भएको हो । यसले २५ वर्ष पुरानो उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई विस्थापित गरेको छ ।

उक्त सम्झौतापछि मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशको पारस्पारिक हितमा आधारित भएको बताएका छन् । यो सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बखत एक प्रमुख एजेन्डाका रुपमा अघि सारिएको थियो थियो ।

छिमेकी देशहरुमा यो सम्झौता सजिलै अनुमोदन हुने देखिएको छ भने अमेरिकाभित्र यसलाई दुवै सदनबाट पारित गरिनु पर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपति ट्रम्पले विपक्षी डेमाक्र्याटहरूसँग उक्त नयाँ सम्झौताबारे पहिले नै छलफल गरी आवश्यक सुझाव लिएको बताइएको छ ।

नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्र्याटले पनि त्यसलाई समर्थन गरेका थिए । अमेरिकी प्रतिनिधिसभाकी सभामुख तथा वरिष्ठ डेमोक्र्याट नेता न्यान्सी पेलोसीले नयाँ सम्झौता धेरै राम्रो भएको प्रतिक्रिया दिएकी छन् ।

यसले उक्त सम्झौता विनाअबरोध अमेरिकी दुवै सदनबाट पारित हुने संकेत गरेको छ । छिमेकी देश क्यानडा र मेक्सिको अमेरिकाका सबैभन्दा ठूला व्यापार साझेदार रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्