सामाजिक सञ्जाल प्रयोग गरेर नेपालमा करोडौं ठगी, विदेशी गिरोह प्रहरीको फन्दामा



काठमाडौं : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल प्रयोग गरी करोडौं ठगी गर्दै आएका विदेशी गिरोहलाई पक्राउ गरेको छ । बुधबार अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यका र उपत्यकाबाहिरका विभिन्न स्थानबाट उक्त गिरोहका सदस्यलाई पक्राउ गरी अनुसन्धानको लागि काठमाडौं परिसर पठाएको हो ।

पक्राउ पर्नेहरुमा दोलखा स्थायी घर भएका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी, नवलपरासीका सन्दिप कलवार, नाईजेरियाका नागरिकहरु पिटर हेरमन अस्सेन्गा र स्मीथ मोरिस र १० जना भारतीय नागरिकहरु रहेका छन् ।

महाशाखाका अनुसार उक्त गिरोहका नाइकेहरु नाईजेरियन र भारतीय नागरिकले भारतको दिल्ली, मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकलाई एजेण्ट बनाएर सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएप, ईमो र फेसबुकको प्रयोग गरि रकम असुली गर्दै आएका थिए । उनीहरुले नेपालका नागरिकलाई अनलाइनमार्फत चिठ्ठा परेको, पार्सल आएको र त्यसको लागि रकम तिर्नुपर्ने भन्दै करोडौं लिने गरेका थिए ।

यसका साथै उनीहरुले बैंक तथा वित्तिय संस्थाहरुमा समेत ह्याक गर्ने गरेका थिए । ह्याक गरेको रकमको १५ देखि २० प्रतिशत मात्रै नेपाली नागरिकलाई दिने गरेको र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले अन्य बैंक तथा वित्तिय संस्थाहरुसमेत ह्याक भएको हुन सक्ने बताएको छ । त्यसका लागि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रमुख एसएसपी थापाका अनुसार उनीहरुले हालसम्म नेपालमा ४० जनाभन्दा बढी एजेण्ट बनाएका छन् । उनीहरुले हालसम्म १४ करोड ६७ लाख ९१ हजार भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । अझै पनि ३४ जना नेपाली अनलाइन ठगीमा सक्रिय रहेको र १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

उनीहरुले कृषि विकास बैक र पानश रेमिटमा ह्याक गरी रकम लुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्