स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण जित्ने खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बालुवाटारमा बोलाएर उनीहरुलाई उक्त रकम दिने घोषणा गरेका हुन् । यस्तै खेलमा रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ ।

यसैगरी फुटबलमा स्वर्ण जितेका खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरेको छ । फुटबलबाहेक अरु टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पनि ५ लाख रुपैयाँ प्रदान गर्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेअनुरुप सो रकम प्रदान गरिने भएको हो ।

हिजो (मंगलबार) काठमाडौंमा सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २ सय ६ पदक जितेको थियो । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागका स्वर्ण विजेतालाई ५ लाख रुपैयाँ दिने उल्लेख छ । यस्तै रजतलाई ३ लाख र कास्य विजेतालाई २ लाख दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्