विदेशमा रहेका म्याग्देलीले गरे १ करोड रुपैयाँको अक्षयकोष स्थापना



बेनी: म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने गरी १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

 

जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग गर्ने गरी स्थापना गरिएको सो अक्षयकोषमा अहिलेसम्म करीब ९० लाख रुपैयाँ सङ्कलन भइसकेको मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए । दरबाङमा सम्पन्न मोनाको सम्मेलनमा २५ लाख रुपैयाँ सङ्कलन भएको थियो। विभिन्न मुलुकमा रहेका यहाँका बासिन्दाले रकम सङ्कलन गर्दै आएका छन्।

 

गत कात्तिकमा पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष खडा गरिएको हो ।

 

कोषलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरी कार्यसमितिलाई प्रस्ताव पेस गर्न योगेन्द्र क्षेत्री, लोक राना, चक्र थापा, योगकुमार फगामी र मुक्ति रोका सदस्य रहेको समिति गठन गरिएको छ। विश्वका विभिन्न देशमा पुगेका म्याग्देली मोनामार्फत सङ्गठित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्