पूर्वमन्त्री र नेताको फाइल खोल्दै अख्तियार



काठमाडौं : राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेको र साना माछा समाउदै ठूला माछालाई उन्मुक्ति दिइरहेको भनेर आलोचना खेपिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेता र पूर्वमन्त्रीको फाइल खोल्दै अनुसन्धान अगाडी बढाएको छ ।

यसरी ठूला माछा खोज्दै अनुसन्धान अघि बढाएको अख्तियारले पूर्वमन्त्री र राजनीतक नेताका साथै ठूला–ठूला व्यापारीहरुको पनि छानविन गरिरहेको श्रोतले बताएको छ । एकातिर सार्वजनिक निर्माण र खरिद कार्यमा व्यापक मिलेमतो र अनियमितता भएको देखिएपछि अख्तियारले यसका साथै सडक र पुल निर्माणमा हुने भ्रष्टाचारसम्बन्धि अनुसन्धानलाई तीव्रता दिएको छ ।

आयोगका प्रवक्त प्रदीप कोइरालाका अनुसार आयोगले अहिले सुक्ष्म रुपले अनुसन्धान अगाडी बढाइरहेको छ ।

अख्तियारले अहिले एक हजार १ सय ४८ ठेककाको छानविनलाई अन्तिममा पुर्याएको छ । विशेष गरी सडक, सार्वजनिक भवन र पुल निर्माणमा ठेक्का दिदा ठूलो घोटाला हुने गरेको उजुरी अख्तियारमा परेपछि यसलाई प्राथमिकताका साथ अनुसन्धान भइरहेको बताइन्छ ।

त्यस्तै करिब दुई दर्जन नेताको तामेलीमा रहेको अकुत सम्पत्तिसम्बन्धि अनुसन्धान पनि अघि बढेको छ । विभिन्न दलका नेता रहेका ती व्यक्तिहरु पूर्वमन्त्री समेत रहेको बताइएको छ । पूर्व प्रमुख आयुक्त दीप बस्न्यातमाथि समेत आयोगको कार्यालयमा बोलाएर बयान लिई अनुसन्धान थालेको अख्तियारले अब दुई दर्जनजति नेता र पूर्व मन्त्रीलाई वयानका लागि बोलाउने तयारी गरिरहेको छ ।

केही दिनअघि मात्रै आयोगका प्रमुख आयुक्त नविन घिमिरेले भ्रष्टाचार गर्ने जो कसैलाई पनि नछाडिने बताएका थिए । प्रमुख आयुक्त घिमिरेले अहिले अख्तियारले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको र केही समयपछि यसको परिणाम देखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्