जोडी बाँधेर सामाजिक सञ्जालबाट ठगी



काठमाडौं : प्रहरीले शनिबार पेप्सिकोलास्थित एक घरको फ्ल्याटमा छापा मार्‍यो । जहाँ काभ्रेकी २३ वर्षीया कुसुम कायस्थ विदेशी युवकसँग तीन वर्षदेखि बस्दै आएकी थिइन् । कुसुमले पतिका रूपमा चिनाएका युवा आइभोरी कोस्टका ३२ वर्षीय ओवोतार अलकाग्नी हुन् ।

‘उनीहरूले आफूहरूलाई दम्पती भनेर चिनाउँदा पत्याउने अवस्था थिएन’, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने, ‘उनीहरूले त्यही फ्ल्याटमा बसेर ठगी धन्दा चलाएको खुलेको छ ।’

आइभोरी कोस्टबाट नेपालमा फुटबल खेल्न आएका युवा पनि छन् । अलकाग्नीले भने कुसुमसँग मिलेर ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । 

यो जोडीले ठगीका लागि सामाजिक सञ्जालको दुरुपयोग गरेको खुलेको छ । प्रहरीका अनुसार दुवै जनाले फेसबुक, भाइबर, इमो र ह्वाट्स एपलाई माध्यम बनाएका थिए । उनीहरूले पार्सल आएको बहानामा आठ जनाबाट १४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरूले फेसबुकसहितका सञ्जालबाट धनी व्यक्ति पहिचान गरी पार्सल आएको बहानामा ठगेको खुलेको छ’, महाशाखाका प्रवक्ता एपपी नरेन्द्र उप्रेतीले भने, ‘दुवैले महँगो पार्सल विदेशबाट आएको भन्दै लिन भाइबर, इमो, ह्वाट्स एप र फेसबुकबाट फोन गरी रकम ठगेको भेटियो ।’

आइभोरी कोस्टका युवक र काभ्रेकी युवतीले पार्सल आएको भन्दै आठ जनाबाट १४ लाख ठगेको प्रहरी भनाइ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्