विश्वकै कान्छी प्रधानमन्त्री सना फिनल्याण्डको प्रधानमन्त्रीमा नियुक्त



एजेन्सी : फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्री सन्ना मरिन प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोले ३४ वर्षीया मारिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी विश्वका बहालवाला प्रधानमन्त्रीहरूमध्ये उमेरले सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री बनेकी छन् ।

साथै उनी फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री भएकी छन् । मारिन नेतृत्वको सरकारमा १२ जना मन्त्री पनि महिला नै बन्ने तय भइसकेको छ । सो मन्त्रीमण्डलमा पुरुष भने सात जना मात्रै रहने जनाइएको छ ।

पार्टी र गठबन्धनले केही दिन अगाडि प्रधानमन्त्री बनाउन चयन गरेपछि मारिनलाई मङ्लबार संसद् बैठकले पनि प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो ।

संसद्मा भएको निर्वाचनमा उनले ९९ मत पाउनु भएको थियो भने ७० जनताले उनको विपक्षमा मत हालेका थिए । त्यसैगरी अरू ३० जना सांसद अनुपस्थित भएका थिए ।

फिनल्याण्डको संविधानअनुसार संसद्मा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरे पनि त्यसलाई संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो ।

उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले बिरामी बिदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हालेका थिइन् भने सन् २०१५ देखि उनले फिनल्याण्डको जनप्रतिनिधिका रूपमा संसद्मा प्रतिनिधित्व गर्दै आएकी छन् ।

प्रधानमन्त्री बन्नुअघिसम्म उनी निवर्तमान सरकारमा गत जुन महिनादेखि यातायात तथा सञ्चार मन्त्री बनेकी थिइन्।

हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रूप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् । उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलहरू पनि नयाँ गठबन्धनसमेत सँगै रहेका छन् । गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाइन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो । गत अप्रिलमा गरिएको निर्वाचनबाट सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्