हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार दिइने



कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकाले जङ्गली हात्तीको आक्रमणबाट आज मृत्यु भएका दुईजनाको परिवारलाई क्रिया खर्चबापत रु ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाका परिवारलाई रु ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख चिनी गिरीले बताए । बैठकले हात्तीपीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि सङ्घ र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

महाकाली नगरपालिका–२ चाँदनीका मायापुरी सामुदायिक वनमा घाँसदाउरा गर्न गएका ५० वर्षीया भुलिदेवी बोहरा र ३८ वर्षीय वसन्ती भट्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

हात्तीले आक्रमण गर्दा सो ठाउँका ललिता बोहरा, सुनिता बिष्ट, उमा साउद र सरिता ओझा घाइते भएका थिए । घाइतेहरुको निकटवर्ती भारतीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्