साइबर जासुसी आरोपमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावे प्रतिबन्धित 



काठमाडौं । हुवावे कम्पनी अहिले चर्चामा छ । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा हुवावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख एवं हुवावेकी उपाध्यक्ष मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिएका थिए । यद्यपि ढिला गरेर उसले जानकारी दिएको थियो । 

यससँगै हुवावे कम्पनीको विषयमा सतहमा आएको छ । हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ । यदि यो आरोपका पुष्टि भएको खण्डमा मङ्गलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । 

उनले छुट्टै कम्पनी स्थापना गरी इरानमा व्यापार विस्तार गरिरहेको आरोप लगाइएको छ । जापानले पनि चिनियाँ कम्पनीहरु हुवावे र जेटीईका उत्पादनहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

सरकारी प्रयोगका दूरसञ्चार सामग्रीहरुमा हुवावे तथा जेटीईको प्रयोगमा रोक लगाउने पक्षमा जापान रहेको हो । हुवावेमाथि प्रतिबन्धको कारण जापानले साइबर आक्रमणको जोखिम रहेको बताएको छ । यद्यपि यो समाचार अहिलेसम्म सरकारले भने पुष्टि गरेको छैन । 

जापानी सञ्चारमाध्यमहरुले बताएअनुसार साइबर आक्रमणको जोखिम चिनियाँ कम्पनीहरुकोे उत्पादनमा देखिएको कारण उक्त कम्पनीहरुमाथि प्रतिबन्धको तयारी गरिएको हो । 

अमेरिकाले जापानलाई चिनियाँ कम्पनीमाथि प्रतिबन्धको लागि जापानसँग गरेको आग्रहअनुसार यो योजना आएको हो । अमेरिकाकै आग्रहमा नै क्यानडामा हुवावेकी अधिकारी पक्राउ परेकी हुन् । यस्तोमा अमेरिका जापानलाई पनि प्रयोग गर्दै हुवावेमाथि दबाब बढाउने पक्षमा रहेको छ । 

लामो समयदेखि नै हुवावेका उत्पादनहरुमा साइबर सुरक्षाको जोखिम रहेको भन्दै अमेरिकाले आलोचना गर्दै आइरहेको थियो । चीन र अमेरिकाको सम्बन्धमा केही सुधार भएको बताइरहँदा यस किसिमको घटना सार्वजनिक भएको हो । 

कुन कुन देशमा प्रतिबन्धित छ हुवावे ? 

हुवावे कम्पनी पछिल्लो समय सुरक्षाको हिसाबमा जोखिम रहेको भन्दै विभिन्न मुलुकहरुमा कारबाही भोगिरहेको छ । यस्तैमा न्युजिल्याण्डले पनि ५जी सेवाको सामग्रीहरुको बिक्रीमा रोक लगाइसकेको छ । 

हुवावेलाई ५जी नेटवर्कका सामग्रीहरु बिक्रीमा रोक लगाउनेमा न्युजिल्याण्ड पहिलो मुलुक भने होइन । यसअघि अष्ट्रेलियाले पनि हुवावेमाथि रोक लगाउने निर्णय गरेको थियो । साथै क्यानडाले पनि हुवावेको सामग्रीहरुमा सुरक्षा जोखिमबारे अनुसन्धान अघि बढाउने निर्णय गरिसकेको छ । 

त्यसका साथै हुवावेमा रोक लगाउने अर्को मुलुक अमेरिका हो । महत्वपूर्ण कुरा के छ भने जुन मुलुकमा हुवावेमाथि प्रतिबन्धको तयारी गरिन्छ, सो मुलुकमा सुरक्षाको कारण पहिलो प्राथमिकतामा हुने गरेको छ । यसले पनि हुवावेका उत्पादनहरुमा केही न केही सुरक्षाको जोखिम पक्कै रहेको स्पष्ट हुन्छ ।

यसैबीच, बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले हुवावेको ५जी नेटवर्कको उत्पादनप्रति चिन्ता व्यक्त गरेका छन् । 

उनले राष्ट्रिय सुरक्षामा आघात पुग्नसक्ने भन्दै हुवावेको प्रयोग रोक्नुपर्ने बताएका हुन् । गत बुधबार उनले हुवावेको सेवाबारे नजिकैबाट नियाल्नुपर्ने आवश्यकता रहेको बताए । 

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही मुलुकहरुले हुवावेको ५जी सेवाका उत्पादनमा रोक लगाउने निर्णय गरेसँगै बेलायतमा पनि कम्पनीबारे चर्चा सुरु भएको हो । 

बेलायतले केही वाणिज्य क्षेत्र लक्षित साइबर आक्रमणमा चीनको सहयोग रहेको आरोप लगाउँदै आएको छ । हुवावेले भने चीन सरकारसँग कम्पनीको कुनै सम्बन्ध नरहेको भन्दै बचाउ गर्ने गरेको छ । 

अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाले ५जी मोबाइल नेटवर्कमा प्रतिबन्ध लगाइसकेकोमा बेलायतले उनीहरुलाई उदाहरणको रुपमा लिनुपर्ने बताए । 

हुवावे कम्पनीको स्थापना पूर्व चिनियाँ सेनाका अधिकारीले गरेका हुन् तर कम्पनीले भने बारम्बार चिनियाँ सरकारसँग कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएको छ । 

बेलायती दूरसञ्चार कम्पनी बीटीले यसअघि नै ३जी र ४जी नेटवर्कबाट पनि हुवावेका उपकरण हटाउने बताएको थियो । साथै ५जी सेवामा पनि उक्त कम्पनीको उपकरण प्रयोग नगर्नका लागि आग्रह गरेको थियो । 

यसैसाता बेलायतको आपतकालीन सेवाको प्रमुख सञ्चारमा हुवावेका उपकरणहरु हटाइएको पुष्टि भएको थियो । गत साता अमेरिकाले पश्चिमा कम्पनीहरुको कम्प्युटर नेटवर्क ह्याकिङमा चिनियाँ नागरिकहरुको संलग्नता रहेको हुनसक्ने बताएको थियो । साथै चीनले साइबर जासुसी गरिरहेको उसको आरोप थियो ।

 

प्रतिक्रिया दिनुहोस्