आज उधौली पर्व, योमरि पुन्हि, धान्य पूर्णिमा मनाइँदै



भक्तपुर : मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा आज (बिहीबार) देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा १६ औं ज्यापू दिवस मनाइँदै छ ।

विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन् ।

नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ । र्बाहै महिना मनाइने फरक–फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ ।

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ ।

हरेक वर्षको मंसिर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक ‘मन्धुम’मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।

‘हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?’ भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् ।

यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौंको टूँडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका विभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।

योमरि पुन्हि र धान्य पूर्णिमा तथा ज्यापु दिवस
त्यसैगरी आज काठमाडौं उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भन्नेगरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ । योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ ।

योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाडौंवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिऔंदेखि चलि आएको हो ।

प्रतिक्रिया दिनुहोस्