प्रदेश ५ मा नमुना राजधानी बन्छ : सभामुख घर्ती



बुटवल : प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ को राजधानी नमुना राजधानी हुने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित कार्यक्रममा उनले अन्य प्रदेशको तुलनामा नमुना राजधानी बनाइने हुनाले यो काम हतारमा हुन नसक्ने बताए ।

 

प्रदेशको राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ ।  

सभामुख घर्तीले राजधानीको विषयमा दीर्घकालिन सोच बनाउन र दलीय स्वार्थभन्दा माथि उठ्न प्रदेश सांसदहरुलाई आग्रह समेत गरे ।

सरकारले जग्गा किनेर राजधानी बनाउन नसक्ने भन्दै उनले खाली रहेको सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउनुपर्ने बताए । घर्तीले रुपन्देहीका सबै जिम्मेबार निकायसँग बाँके र बर्दियाको क्षेत्रलाई समेत समेटेर  कार्य अगाडी बढाउन आग्रह गरे । 

संविधान कार्यान्वयन गर्ने दायित्व सबैको रहेको भन्दै उनले सबैको सहकार्यबाट संविधान  र संघीयता कार्यान्यवन गर्नुपर्ने बताए । 

संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको नाम लुम्बिनी  र राजधानी अहिलेकै ठाउँमा उपयुक्त हुने बताए । 

संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानीको विषयमा सांसदहरु चुकेको बताए । उनले प्रदेशको राजधानी रुपन्देही उपयुक्त हुने तर्क राखे । भन्सार, विमानस्थल, सडक, पूर्वाधार, अस्पतालजस्ता आधारभुत सुविधा भएका कारण प्रदेश ५ को राजधानीको उत्तम विकल्प रुपन्देही नै हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्