नेविसंघको अध्यक्ष बनाउन देउवा र पौडेलबीच घम्साघम्सी



काठमाडौं : आज (बिहीबार) अपराह्न ४ बजे पार्टी मुख्यालय सानेपामा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठकमा लामो समयदेखि नेतृत्व बिहीन र अलपत्र अवस्थामा रहेका कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व चयन गर्ने एजेण्डा पनि रहेको छ ।

नेविसंघ करिब एक वर्षदेखि नेतृत्व बिहीन अवस्थामा रहेको छ । ११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले राजीनामा दिएपछि रिक्त अध्यक्षमा कसलाई ल्याउने भन्ने विषयमा कांग्रेसको शीर्ष तहमा सहमती नहुँदा नेविसंघ नेतृत्व बिहीन अवस्थाबाट गुज्रिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षमा आफ्नो पक्षका राजिव ढुंगानालाई अगाडी सारेपछि संस्थापन इतरको पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ । पौडेल पक्षले नेविसंघ र तरुण दल मध्ये एकको अध्यक्षमा दाबी गर्दै आएको छ ।

तरुण दलको नेतृत्व चयन भइसकेको अवस्थामा पौडेल पक्षले नेविसंघको अध्यक्षमा शसक्त दाबी गरेको छ । पौडेल पक्षले नेविसंघको ११ औं महाधिवेशमा नैनसिंह महरसँग पराजित मनोज मणि आचार्यलाई अध्यक्ष बनाउने प्रस्ताव देउवा समक्ष गरेको छ । तर, संस्थापन पक्षले पौडेल पक्षको यो प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।

यसले गर्दा नेविसंघ नेतृत्व बिहीन अवस्थामा रहँदै आएको छ । नेविसंघको महाधिवेशन आयोजक समितिको नेतृत्व चयनको विषयमा संस्थापन पक्ष र पौडेल पक्षबीच घम्साघम्सी चलिरहेको बेला उमेर विवाद पनि थपिएको छ । नेविसंघको नेतृत्वमा ३२ वर्ष मुनिबाट आउने विधानमा उल्लेख छ । अहिले देउवा पक्ष र पौडेल पक्षले अघि सारेका ढुंगाना र आचार्य दुवै ३२ वर्ष कटिसकेका व्यक्तिहरु हुन् । त्यस्तै महाधिवेशन आयोजक कमिटि सानो बनाएर पदाधिकारीहरु मात्रै चयन गर्ने कि ? पूरै कार्य समिति नै बनाउने कि भन्ने बीच दुवै पक्ष एक मत हुन सकेको छैन । नेविसंघको ११ औं महाधिवेशनमा पार्टीका तेस्रो धारको नेतृत्व गरिरहेका कृष्ण प्रसाद सिटौला समूहको समर्थनमा देउवा पक्षले अघि सारेका महरले अध्यक्षमा जितेका थिए ।

अहिले सिटौला पक्ष देउवासँग नरहेको भन्दै पौडेल पक्षले नेविसंघको अध्यक्ष आफ्नो पक्षले पाउनुपर्ने दाबी अघि सारेको छ । सिटौला पक्षले भने महामन्त्रीसहित केही पदाधिकारीमा दाबी गर्दै आएको छ ।

कांग्रेस केन्द्रीय समितिले यस विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । प्रवक्ता शर्माका अनुसार सकेसम्म सहमतिका साथ निर्णय हुने र त्यसो नभएमा विधि प्रक्रिया अनुसार निर्णय हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्