सहमति नभए पेलेरै जाने यस्तो छ देउवाको तयारी



काठमाडौं : आज (बिहीबार) अपरान्हदेखि शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष आ–आफ्नै रणनीतिका साथ प्रस्तुत हुने भएका छन् ।

आजको बैठकमा उपनिर्वाचनको समीक्षा, तेस्रो चरणको जनजागरणको अभियान, केन्द्रीय विभागको गठन र भातृसंस्थामा देखिएको विवादको समाधान जस्ता एजेण्डाहरु तय गरिएपनि दुवै पक्षको ध्यान केन्द्रीय विभाग गठन र तरुणदल तथा नेविसंघको नेतृत्व निर्माणमा केन्द्रित देखिन्छ । दुवै पक्षले यतिबेला आ–आफ्नै रणनीति बनाएका छन् । आसन्न कांग्रेसको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने हिसाबले रणनीतिमा जुटेका छन् ।

संस्थापन पक्ष १४ औ महाधिवेशनको तिथिलाई एक वर्ष पर धकेल्न खोजिरहेको छ भने पौडेल–सिटौला पक्ष छिट्टै महाधिवेशन गर्ने पक्षमा देखिन्छ । केन्द्रीय समतिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा हिजो (बुधबार) बिहान पौडेलपक्षले भेला गरेको थियो । महामन्त्री शंशाङ्क कोईरालाको महाराजगन्जस्थित निवासमा सम्पन्न पौडेल पक्षको भेलाले विभागको संख्या थप्न नहुने, महाधिवेशन छिटो गराउनुपर्ने र आसन्न महाधिवेशनलाई प्रभावित पार्ने गरी कुनै कार्य हुन नदिन दृढताका साथ प्रस्तुत हुने निर्णय गरेको छ । त्यस्तै नेविसंघ र तरुणदल मध्ये एउटा भातृ संस्थाको नेतृत्व आफ्नो पक्षले लिन कडा ढंगले प्रस्तुत हुने सहमति पनि भेलामा भएको छ ।

केन्द्रीय कमिटिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने संस्थापन पक्षको छलफल पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको छ । संस्थापन पक्षले विभागको संख्या बढाएर सहमतिका साथ विभाग गठन गर्ने योजना बनाएको छ । पौडेल पक्षले सहमति नगरे पेलेरै जाने रणनीति पनि संस्थापन पक्षले लिएको छ । पौडेलपक्षले असहमति जनाए हाललाई संगठन प्रचार, विदेश र जनसम्पर्क जस्ता महत्वपूर्ण केही विभागमा मनोनयन गर्ने योजना पनि छलफलमा आएको छ ।

त्यस्तै तरुण दल र नेविसंघको नेतृत्व कुनैपनि हालतले नछाड्ने टुङ्गोमा पनि संस्थापन पक्ष पुगेको छ । देउवा निकट एक नेताका अनुसार पौडेल पक्ष सहमतिमा नआए सभापति देउवा पेलेरै जाने मनस्थितिमा पुगेका छन् । सहमतिका साथ निर्णय नभए विधानअनुरुप प्रकृयाबाट निर्णय लिने ती नेताले बताए । बुढानिलकण्ठमा भएको संस्थापन पक्षको बैठकमा पौडेल– सिटौला पक्ष कसरी प्रस्तुत हुन्छ, त्यो हेरेर संस्थापन पक्ष प्रस्तुत हुने तयारी पनि भएको छ । सभापति देउवाले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुलाई शसक्त ढंगले प्रस्तुत हुन र अर्को पक्षको जमेर प्रतिवाद गर्न निर्देशन दिएको एक नेताले बताए । पार्टी सहमहामन्त्री डा. प्रकाश शरण महतले सकेसम्म सहमतिमै निर्णय गर्ने बताए ।

उता पार्टीभित्र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो समूहको छुट्टै बैठक राखेको छन् । १३ औं महाधिवेशनमा देउवालाई सर्मथन गरेका सिटौलाले पछिल्लो समय देउवासँग असन्तुष्ट हुँदै पौडेल समूहसँग नजिकिएका छन् । सिटौला समूहले विभाग र भातृ संस्थामा आफ्नो बलियो उपस्थितिलाई बढाउदै लैजाने नीति अंगीकार गरेको बताईन्छ । सभापति देउवाले सहमति भएअनुरुप काम नगरी आफूहरुलाई बाईपास गरेको र धोका दिएको बुझाई सिटौला समूहको छ । सिटौला समूहले आफ्ना लागि पद बाँडफाँडमा छुट्टै प्रतिशत माग गर्ने भएको छ ।

संस्थापन पक्षले ६०–४० को अंशवण्डामा ६० प्रतिशत आफूलाई राखेर ४० प्रतिशत कोटामा पौडेल सिटौलापक्षलाई अटाउन खोजेको छ । तर यस विषयमा पौडेलपक्ष र सिटौला पक्षले आपत्ति जनाउदै आएका छन् । पौडेल पक्षले आफूलाई मात्र ४० प्रतिशत माग गर्दै यसअघि सुशिल कोईराला पार्टी सभापति हुँदा देउवा पक्षलाई दिएको अंशवण्डाको फर्मुला लागू हुनुपर्ने बताउँदै आएको छ । यसका साथै एकतापछि कांग्रेसमा भित्रिएका बिजय गच्छेदारले पनि छुट्टै कोटा मागेका छन् । यस्तो परिदृश्यले गर्दा सभापति देउवा अप्ठेरोमा परेका छन् ।

बैठकमा केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा पनि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्था छ । विधानमा २८ विभाग रहने व्यवस्था गरिएको छ भने केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्थासमेत उल्लेख छ ।

यसैगरी बैठकमा समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको भ्रातृ र ६ शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुनेछ । पार्टीका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ तामाङ सङ्घ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको छ ।

त्यस्तै, १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ नेपाल प्रेस युनियन, वन प्राविधिक सङ्घ कुमाल सङ्घ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।

नियमित समयमा महाधिवेश गर्न नसकिने र विधान अनुसार कार्यकाल एक वर्ष थप गर्ने प्रावधान अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशन एक वर्ष पछाडि धकलिने भएको छ । आसन्न १३ औं महाधिवेश आउन करिब ३ महिना बाँकी रहँदा आज २६ गते बस्न गइरहेको कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको अवधि एक वर्ष थप गर्ने प्रस्ताव लैजाने तयारी गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले सहमतिमै कार्यकाल एक वर्ष थप्न पार्टी उपसभापति विमलेन्द्र निधिलाई संस्थापन इतर पक्षलाई सहमती र सम्वादका लागि खटाएका छन् । पार्टी उपसभापति निधिले संस्थापन इतरका नेता रामचन्द्र पौडेलसँग उनको निवास बोहोराटार पुगेर यस विषयमा छलफल गरेका छन् । निधिले पार्टी सभापति देउवाको सन्देश भन्दै पौडेललाई कार्यकाल थप गर्ने विषयसँगै विभाग गठनदेखि नेविसंघ र तरुण दल लगायतका भातृसंस्थाको नेतृत्व मनोनयनमा सहमतिका साथ अघि बढ्न चाहेको बताएका थिए । साथै उनले विभाग र भातृ संस्थाको नेतृत्वमा राख्न पौडेल पक्षबाट नामावली समेत माग गरेका थिए ।

यस विषयमा विभाग गठनदेखि नेविसंघ र तरुण दल लगायतका भातृ संस्थामा नेतृत्व पाउने भएमा सोच्न सकिने भन्दै पौडेलले थप छलफल आवश्यक रहेको बताएको स्रोतले दाबी गरेको छ ।
पार्टी विधानमा संघीयता राखिएपछि पनि विना संघीयताको पार्टी चलिरहेको छ । पार्टीका हिसाबले यसका प्रदेश कमिटी र प्रतिनिधिहरु नै छैनन् ।

कांग्रेसले पार्टीको केन्द्र र जिल्ला चलाइरहेको छ । यसले पनि उक्त पार्टी्भित्र अन्यौलता सिर्जना गरिरहेको छ । त्यसो त सत्ताधारी दल नेकपामा एकताको प्रक्रिया पूरा हुन बाँकी रहेको जस्तै कांग्रेसमा पनि उपसभापति विजयकुमार गच्छेदार समूहसँगको एकता अझैं बाँकी छ । एकता पनि बाँकी रहेको र संचनात्मक हिसाबले पनि पुरानै अवस्थामा रहेकाले कांग्रेस हाल गतिहीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्