खुसुक्क मूर्ति लैजादा पशुपतिमा भूकम्प



काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र गर्भगृहमा रहेको मुख्य शिवलिङ्गको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै उक्त गर्भगृहको तस्वीर लिन नपाइने भन्ने कुरा उत्पातै प्रचार गरियो । तर कुरा त्यसो मात्र थिएन । मुख्य कुरा त पशुपतिनाथमा मूर्ति प्रतिस्थापन गर्ने कुरा नै थियो । पहिलेदेखि नै भारतीयहरुले पशुपतिनाथभित्र पसेर शिवलिंगको नापनक्सा लिने, आवश्यक स्थानहरुको छनौट गर्ने, पूजा विधि र कार्यक्रममा हेरफेर गरिदिने गर्दै आएका छन् ।

नेपालमा जे काम भइरहेको हुन्छ, त्यसमा जहिले पनि देखाउने एउटा गर्ने अर्को भइरहेको हुन्छ । अहिले पशुपतिनाथ मन्दिरक्षेत्रमा भारतबाट ल्याइएका जगन्नाथका मूर्ति प्रतिस्थापन कुराले विवाद निम्त्याएको छ । भारतको गोवर्धन मठ पुरीपीठबाट ल्याइएका ती मूर्ति त्यहाँ किन प्रतिस्थापन गर्न लागिएको हो, त्यसबारे गम्भीर प्रश्नहरु उठिरहेका छन् ।

चीनसँगको लडाइँमा ‘बहादुरीका साथ पछि हटेका’ भारतीय सेनालाई अस्थायी विश्रामका लागि नेपालको कालापानीमा आश्रय दिँदा आज कालापानी नै हडपेर भारतीय नक्सामा देखाएको दृष्टान्त हाम्रासामु छ । आज फेरि भारतबाट भारतीयहरुले नै बोकेर ल्याएका त्यस्ता मूर्तिहरु पशुपति क्षेत्रमा राखिन थालिने हो भने भोलि नेपालको पशुपति क्षेत्र भारतकै दावा गरिन बेर छैन ।

भारत विस्तारवादी मात्र छैन, यसको चरित्र साम्राज्यवादी प्रकृतिको पनि छ । अमेरिकी–युरोपीयहरुले प्यालेष्टिनी भूमि कब्जा गरेर इजरायल देश नै निर्माण गरिसके । भारतले जम्मु–कश्मीर कब्जा गरेर त्यहाँभित्र हिन्दूहरुको बस्ती बसाउने बृहत्त योजना कार्यान्वयनमा लागि परेको छ । त्यसै गरी नेपालमा भारतको गोवद्र्धन मठपुरीबाट ल्याइएका मूर्तिहरु प्रतिस्थापनको उद्देश्य के त ?

नेपाल सरकार पनि र त्यसमा पनि सम्बन्धित मन्त्रालय समयमै चनाखो भई यस्ता कार्यहरु नियन्त्रणमा लिनुपर्छ । थप शंकास्पद कामहरु हुन नदिनका लागि पनि अनुगमन र सुपरिवेक्षणलाई कडाइका साथ लागू गरिनुपर्छ । नत्रभने बाहिरफेर पशुपतिमा राष्ट्रिय गान चर्को स्वरमा सुनाउने र भित्रभित्र पशुपतिको स्वत्व र स्वामित्व भारतीयहरुलाई हस्तान्तरण गर्ने पनि हुनसक्छ ।

यसका लागि आमनेपाली तथा भक्तजनहरुबाट पनि उचित सचेतता अपनाइनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्