राउटेले किन सम्झिए उपप्रधानमन्त्री पोखरेललाई ?



काठमाडौं : राउटे समुदायले शनिबार धुमधामसँग आफ्ना कूल देवता मस्टोको पूजा गर्दैछन् । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका भए पनि उनीहरु कूल पुजाका लागि भ्याइनभ्याइ गरी खटिरहेका छन् । पहिले मस्टो पुजाका लागि वनविहारमा निस्कने राउटे अहिले भने सहर झर्न थालेका छन् ।

पुजाको तयारीका लागि राउटेहरु कामको बाँडफाँड गरेर बस्तीदेखि बजारसम्म पुगेका छन् । राउटेका मुखियाहरु चामल र बोकाको जोहोमा सहर झरेका छन् भने उनका परिवारहरु बस्तीमा अन्य सरसामानको तयारी लागिरहेका छन् ।

राउटे खस समुदायका हुन् । उनीहरुले कूलदेवताका रुपमा दारेमष्टोलाई पुज्छन् । राउटेका अर्को देवता भनेका भुयाँर हुन् । यो समुदायले साउने तथा माघे सङ्क्रान्तिलाई पर्वका रुपमा मनाउँछ । अहिले भने राउटेहरु बोका र चामलको जेहोका लागि सुर्खेत आइपुगेका छन् ।

राउटे अगुवा हरिबहादुर शाही भन्छन्– ‘भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग बोका र चामल किनिदिन माग गरेका छौँ ।’ अनुरोधपछि प्रदेश सामाजिक विकास मन्त्रीले राउटेहरुका लागि छुट्याइएको बजेटबाटै मष्टो पुजाको गर्जो टारिदिने भएपछि उनीहरु मख्ख परेका छन् ।

मष्टो पुजामा प्रत्येक परिवारले एकेकवटा बोका बलिदिनु पर्ने भएकाले उनीहरुका लागि अहिले ४६वटा बोका आवश्यक परेको छ । आपद्मा परेका राउटेहरु मन्त्रीज्यूले भोको बस्नुपर्दैन भनेपछि मष्टो देवतालाई धन्यवाद दिन थालेका छन् । उनीहरु भन्छन्– यो सबै भगवान र कूलदेवता मष्टोले जुराइदिएका हुन् ।

हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटेको बस्ती छ । सुर्खेतमा बोका र चामल पाउँदा राउटे अगुवाले पत्रकारसामु ‘काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसीबोका पठाउने’ आश्वासन दिएको कुरा समेत् सम्झन पुगे ।

भावनात्मक कुरा गर्दै जाँदा उनले भने– ‘जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुनाबाँदर पाइँदैन, त्यही भएर मासुका लागि पनि खसीबोकाकै भर पर्नुपर्छ ।’ उनले थपे, सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च भैसक्छ ।

ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसँग मेल खान्छ । राउटेहरु आफ्नो संस्कार, धर्मसंस्कृति, भेषभूषा रहनसहन निकै प्यारो मान्छन् । उनीहरुको स्थायी बसोबास, पशुपालन र खेतीबालीप्रति देखिदैन ।

प्रतिक्रिया दिनुहोस्