भोकभोकै मरिरहेकाहरुसम्म खाना पुग्न दिँदैनन् यमनका विद्रोही



एजेन्सी : द्वन्द्वग्रस्त मुलुक यमनमा भोकमरीमा परेकाहरुका लागि पठाइने खाना उनीहरुसम्म पुग्ननसकेको एक सर्वेक्षणले देखाएको छ । 

विगत लामो समयदेखि द्वन्द्वको चपेटामा रहेको यमनमा विश्व खाद्य कार्यक्रमले राहतस्वरुप खाद्यसामग्री पठाउँदै आएको छ । तर, उक्त खाद्यसामग्री त्यहाँको विद्रोही समूह हुथी विद्रोहीले खोस्नेगरेको थाहा पाइएको छ ।

एक अमेरिकी सर्वेक्षणले देखाएअनुसार सर्वसाधारणलाई बाँडिएको खानेकुरा हुथी विद्रोहीले जबर्जस्ती कब्जा गरी खुला बजारमा पैसाको लागि बेच्ने गरेको छ ।

यता राहत सामाग्री प्रदान गर्ने विश्व खाद्य कार्यक्रमले हुथी विद्रोहीलाई उनीहरु नियन्त्रित स्थानमा खाद्य सामाग्री पुर्याउन दिनुपर्ने बताएको छ ।

यमनमा युद्धका कारण तीन वर्षयता सर्वसाधारणले पोषणयुक्त खानेकुरा खान पाएका छैनन् ।

‘सेभ दि चिल्ड्रेन’ले जारी गरेको ३ वर्षको तथ्यांकअनुसार यमनमा कुपोषणका कारण अहिलेसम्म ८५ हजार बालबालिकाको ज्यान गएको छ ।

त्यस्तै, संयुक्त राष्ट्रसंघले यमनमा हिंसा जारी रहे त्यहाँका एक करोड ४० लाख जनता भोकमरीको शिकार हुने चेतावनी दिएको छ । यमनमा कुपोषणको मुख्य कारण द्वन्द्वलाई मानिएको छ ।

राष्ट्रसंघका अनुसार त्यहाँका प्रत्येक पाँच नागरिकमध्ये एक जना भोकमरीको शिकार छन् । पाँच वर्षभन्दा मुनीका ३० प्रतिशत बालबालिका कुपोषणको शिकार छन् भने प्रत्येक १० हजारमध्ये २ जनाको कुपोषणका कारण मृत्यु हुने गरेको छ ।

सन् २०१५ मा हुथी विद्रोहीको त्रासका कारण राष्ट्रपति अब्द्राबु मनसोर हादी देश छाडेर भागेपछि त्यहाँ युद्ध सुरु भएको हो । साउदी अरब लगायत अन्य अरब मूलुकले यमनमा हुथी विद्रोहीविरुद्ध संयुक्त कारवाहि गर्दै आएका छन् ।

राष्ट्रसंघका अनुसार यमनमा द्वन्द्वका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय पुगेको छ भने दस हजारभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्