थारू महिलाले दस दिन माघी मनाउने 



सुनसरी पूर्वदेखि पश्चिमका समुदाय तथा तराईदेखि पहाडसम्म जाडोयाममा मनाइने माघी पर्वलाई थारू महिलासभा रामधुनीले भव्य रूपमा मनाउने तयारी गरेको छ ।

अहिलेसम्मकै ठूलो उत्सवका रूपमा माघी मनाउन लागिएको आयोजकले जनाएको छ । 

थारू महिलाको नेतृत्वमा रामधुनी नगरपालिकाको झुम्का बजारमा पहिलोपटक यति ठूलो उत्सवका रूपमा माघी मनाउन लागिएको थारू महिलासभाकी अध्यक्ष सीता चौधरीले बताइन् । 

माघी पर्वलाई सम्पूर्ण जातजातिले मनाउने भए पनि थारू समुदायले विशेष गरी परिवारिक सदस्यको दीर्घायु तथा रोगव्याधीबाट बच्न विभिन परिकार खाएर मनाउने चलन रहेको छ । 

चौधरीका अनुसार माघी महोत्सवमा विभिन्न जातजातिको पहिचानसहितको झाँकी प्रदर्शन, भेषभूषा, मौलिक परम्पराको धुमरा नाच, थारू समुदायका विभिन्न परिकारबाट सहभागीलाई स्वाद चखाउने आदि हुनेछन् । 

महोत्सवमा रोटे पिंग, ब्रेक डान्स, डाइगन खेललगायत ख्यातिप्राप्त कलाकार द्वारा प्रत्येक दिन हुने अध्यक्ष चौधरीले जानकारी दिइन् । विशेषगरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन रहेको छ । 

यस पर्वमा थारू समुदायले समाजका लागि बडर, अगुवा तथा नेता चुनेर वर्षभरिको हिसाबकिताब गर्ने चलन रहेको थारू कल्याणकारी सभा तथा आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी बताए । 

लोप हुँदै गइरहेको पुराना संस्कृति परम्परा तथा चाडपर्वलाई नयाँ पुस्ताले अनुसरण गर्ने स्थिति सिर्जना होस् भन्ने उद्देश्यले समयसमयमा यस्ता कार्यक्रम हुनुपर्ने महिला अगुवा तारा चौधरीले बताइन् । 

एक दर्जन भन्दा बढी स्टल रहने महोत्सव पुस २१ बाट सुरु भएर ३० गतेसम्म चल्ने छ । सुनसरी, मोरङ, सप्तरी, उदयपुर जिल्लाका करिब दसौं हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकले जनाएको छ ।

प्रस्तुति : निशान प्रकृति

 

प्रतिक्रिया दिनुहोस्