कर्णाली प्रदेशले आफ्नै हेलिकप्टर किन्ने



जुम्ला : कर्णाली प्रदेश सरकारले हेलिकप्टर किन्ने तयारी गरेको छ । प्रदेशका कुनैपनि जिल्लामा घट्नसक्ने दैवी प्रकोपको समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकोप्टर किन्न लागिएको हो । 

पछिल्लो समय विभिन्न आगलागीका घटनामा उद्धार र प्रकोप न्युनिकरण गर्न स्रोत साधन नहुँदा धेरै क्षति बेहोर्नुपरेको भन्दै प्रदेश सरकारले आफ्नै हेलिकोप्टर किन्ने मनसाय बनाएको छ । अत्यावश्यक समयमा प्रयोगार्थ हेलिकोप्टर खरिद गर्ने तयारी गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । 

सोमबार जुम्ला पुगेका मन्त्री ज्वालाले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि आफ्नै साधन आवश्यक हुने बताए । कालिकोट आगलागीको प्रसंगलाई जोड्दै उनले भने, ‘राति खाडा आगलागी भएपछि भोलिपल्ट बिहानै राहत लिएर कालिकोट जानका लागि केन्द्रसँग हेली माग्दा दिउँसोमात्रै आयो । त्यसैले विपद्मा जतिसक्दो छिटो उद्धार कार्यमा खट्नका लागि प्रदेश सरकारले हेलिकप्टर किन्छ ।’ 

हेलिकप्टरलाई कर्णालीका नागरिकलाई संकट परेको अवस्थामा मात्र परिचालन गरिने उनको भनाइ छ । 

प्रदेश सरकारले हेलिकप्टर किनेपछि कर्णालीका ग्रामीण भेगका महिलाले प्रसवव्यथाका बेला समयमै उपचार पाउने पनि आश्वासन समेत मन्त्री ज्वालाले दिए । कर्णालीका ग्रामीण क्षेत्रमा हेलिप्याड निर्माणबारे अध्ययन भइसकेको उनले बताए ।

     

प्रतिक्रिया दिनुहोस्