वंशजको नागरिकता छ तर लालपुर्जा छैन



वीरगञ्ज : वंशजको आधारमा नागरिकता प्रमाणपत्र छ, जग्गा छ, जग्गामा घर पनि छ तर जग्गा भने नाममा छैन । यस्तो पीडा विगत १३ वर्षदेखि भोग्दै आएको छ जिरा भवानी गाउँपालिका–३ परसुवाटाडीका ६५ दलित परिवारले । 

सो ठाउँमा २०६२ सालतिर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ घरपरिवारले आजसम्म लालपुर्जा पाएका छैनन् । तेह्र वर्षमा पनि उनीहरूको जग्गा नापी हुन नसक्दा आजसम्म सुकुम्बासी भएको पीडा भोग्दै आइरहेका छन् । 

आधारभूत आवश्यकताभन्दा टाढा रहेको परसुवाटाडीको सुकुम्बासी बस्तीमा चमार, मुसहर, दुसाद, मुसलिम, थारू जातिको बाहुल्य रहे पनि उनीहरू लालपुर्जाविहीन अवस्थामा छन् ।

“वंशजको नागरिकता पाएका र स्थानीय निर्वाचनमा मत खसाल्ने अधिकार प्राप्त गरेका ती सुकुम्बासीले हालसम्म पनि लालपुर्जा पाउन नसक्नु विडम्बना नै हो”, स्थानीय भोला महतो थारू भन्छन्, “सो जग्गाको हालसम्म नापी हुन नसक्दा ती दलित लालपुर्जाविहीन अवस्थामा बस्नुपरेको छ ।” 

प्रदेश नं २ सरकारसमेत पूर्वाग्रही भएपछि हालसम्म सुकुम्वासी नै भएको उनीहरूको गुनासो छ । लालपुर्जाविहीन सुकुम्बासी भन्छन्, “गाउँपालिकाभित्र इलाका प्रशासन कार्यालय आइपुग्दासमेत हाम्रो जग्गाको लालपुर्जाबारे केही प्रयास हुन सकेको छैन ।”

प्रतिक्रिया दिनुहोस्