अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुर आउनेको संख्यामा कमी



जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुर आउनेको संख्यामा यस वर्ष कमी आएको छ ।

जनकरपुरधाम–१३ स्थित मणिपाल, ४ को मत्स्यपालन, २० को रुपैठास्थित नोंचा पोखरी, जनकपुर विमानस्थलको खाली मैदानमा अन्य वर्षको तुलनामा अंग्रेजी नयाँ वर्षको भोज (पिकनिक) मनाउन आउनेको संख्यामा कमी आएको हो ।

अंग्रेजी वर्ष २०१९ को पहिलो दिन मंगलबार भएकाले नयाँ वर्ष मनाउन आउनेको संख्यामा कमी आएको हुन सक्ने स्थानीय युवा अमित पाठकको भनाइ छ । पाठकका अनुसार नयाँ वर्षको तिथि एकादशी परेकाले पनि भारतको बिहार र अन्य जिल्लाबाट पिकनिक मनाउन आउनेको संख्यामा कमी आएको हुन सक्छ ।

पिकनिक हब बन्दै कभर्ड हल

केही वर्षयता जनकपुरको मणिपाल (कभर्ड हल) अँग्रेजीको नयाँ वर्ष मनाउन आउनेको लागि पिकनिक ‘हब’ बनेको छ । नेपालीले वैशाख १ गते मनाउने नयाँ वर्षमा भन्दा जनवरी १ मा नयाँ वर्ष मनाउन आउनेको संख्या तीनचार गुना बढी हुने गरेको देखिएको छ ।

ठूलो क्षेत्रफल रहेको मणिपालमा डिसेम्बरको पहिलो हप्तादेखि नै पिकनिक मनाउनेको घुइँचो लाग्ने गरेको हुन्छ । पहिलेका वर्षको तुलनामा थोरै संख्यामा भए पनि मणिपालमा यस वर्ष पनि पिकनिक मनाउन आउनेले रमाइलो गरे । खाना पकाउने, गीत गाउने र नाच्नेको राम्रै उपस्थिति रह्योे ।

मणिपालमा विशेषगरी सीमावर्ती भारतीय क्षेत्र तथा धनुषाका छिमेकी जिल्लाबाट मानिसहरू पिकनिक मनाउन आउँछन् ।

जनकपुरधाममको दोस्रो पिकनिक ‘हब’का रुपमा विकास हुँदै आएको धनुषाधाममा पनि अन्य वर्षको तुलनामा यस वर्ष भीडभाड कम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्