कांग्रेस केन्द्रीय समिति बैठक : पौडेल पक्षद्वारा बैठक बहिष्कार



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक साढे चार घण्टा ढिलो गरी शुरु भएको छ । पार्टी मुख्यालय सानेपामा आज (बिहीबार) दिउँसो १ बजेबाट शुरु हुने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साढे ४ बजेबाट शुरु भएको हो ।

बैठक शुरु भएलगत्तै संस्थापन इतर पक्षले बैठक बहिष्कार गरेका छन् । बैठकमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच सहमती नहुँदा रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गर्ने असन्तुष्ट पक्षको चेतावनीलाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले ४ः३०मा बैठक सुरु गर्न निर्देशन दिएका थिए । बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन् ।

यसैगरी कांग्रेस महामन्त्री शशांक कोइराला भने बैठक शुरु हुनुअगावै निवास तिर लागेका छन् । महामन्त्री कोइराला पनि देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

सभापति दउवाले नेविसंघको नेतृत्वमा विधान विपरित ३२ वर्ष काटेका व्यक्तिलाई मनोनयन गर्न खोजेपछि त्यसको विरुद्धमा नेविसंघका कार्यकर्ताहरुले पार्टी मुख्यालय सानेपामा नारावाजी गरिरहेका छन् । बाहिर नारावाजी भइरहँदा भित्र भने आज केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेण्डा र निर्णयका विषयमा सहमतीका लागि बैठकहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्