यी हुन् सरकारी जागिर छोडेर जमेका नेपाली कलाकार



काठमाडौं : एउटा भनाइ छ तिहुन मिठो तरकारी र जागिर राम्रो सरकारी अर्थात सरकारी जागिर भयो भने जीवनभरलाई ढुक्क हुन्छ । सरकारी जागिर भयो भने बुढेसकालमा पेन्सन आउँछ र जीवन धान्न सजिलो हुन्छ । प्राय जहाँ कहिका मानिसहरु सरकारी जागिर भनेपछि मरिहत्ते गर्छन् । सरकारी जागिर खानका लागि कति मानिस लालायित हुन्छन् भन्ने लोकसेवाको आँकडा नै हेरे पुग्छ ।

तर सबैको हकमा यो लागू हुँदैन् । लहलहैमा सरकारी जागिर खाएका र पछि छोडेका उदाहरणहरु टन्नै छन् । यसमध्ये यी कलाकारहरु जसले सरकारी जागिर छोडेर कलाकारीतालाई अंगाले । ती मध्ये केहि कलाकारहरुको बारेमा हामी जानकारी दिँदै छौँ ।

दिपकराज गिरी

नेपाली सिने क्षेत्रका राजा बनिसकेका दिपकराज गिरी आफूलाई हुन नसकेको असई भन्छन् । उनी कलाकारीतामा आउनुभन्दा पहिला असईमा भर्ती भएका थिए । यो कुरा धेरै कमलाई थाहा छ । उनले आफू सहायक निरिक्षक असईमा भर्ती भएर केहि दिन बिताएको कुरा केहि अन्र्तवार्ताहरुमा भनेका छन् । जम्मा ४ दिन असईको जागिर खाएका उनले काम गाह्रो लागेपछि कुलेलाम ठोके । प्रहरी अधिकृत बन्ने रहरले असई बनेका उनलाई सरकारी जागिरभन्दा कलाकारीता नै प्यारो लाग्योे र फाप्यो पनि ।

अर्जुन घिमिरे उर्फ पाँडे

अर्जुन घिमिरेले पनि नेपाली सेनाको अनुभव सङ्गालेका छन् । संकटकालको समयमा उनी आर्मीमा भर्ती भएका थिए । तर उनको संकटकालको सरकारी जागिर संकटकालले नै खाइदियो । देशमा माओवादि र सरकारबीच बढेको द्वन्दले उनले आर्मीको जागिर छोडे । कलाकारीताभने उनले आर्मीमा जानु पहिला नै सुरु गरेका थिए । पछिल्लो समय उनी भद्रगोलमा पाँडेको भूमिकाले चर्चित भएका हुन् । अहिले उक्त टेलिसिरियलको नाम परिवर्तन भएर सक्किगोनी भएको छ ।

धिरेन शाक्य

नायक धिरेन शाक्यले नेपाली सिनेमामा झन्डै तीन दशक बिताइसकेका छन् । पाल्पामा जन्मेका शाक्यले पनि अभिनयका लागि ब्रिटिस आर्मीको जागिर छोडेका थिए । त्यो समयमा जोश र उमेर भएकाले आफू आर्मीमा गएको तर पछि त्यो जीवन मन नपरेको उनी बताउँछन् । आर्मीको जागिर छोडेपछि साथीहरुको हौसला र सहयोगले सिनेमामा लागेका उनी सफल नायकका रुपमा सावित भए ।

प्रशान्त तामाङ

इन्डियन आइडल बनेका गायक तथा नायक प्रशान्त तामाङ पनि पहिले इन्डियन आर्मीमा कार्यरत थिए । उनले कलाकारीता र सरकारी जागिर मध्ये एउटा छान्नुपर्ने भएका कारण कालाकारिता छानेका र आर्मीको जागिर छोडेको बताउँछन् । तर उनी लामो समयसम्म गयल भएका कारण निकालिएको भन्ने चर्चा पनि थियो । उनले आर्मीको भूमिका निभाएर दुई चलचित्रसमेत खेलेका छन् ।

तुलसी घिमिरे

निर्देशक तुलसी घिमिरेले पनि सरकारी जागिर छोडेर सिनेमालाई अंगालेका हुन् । उनी भारतिय सेनामा भर्ती भएका थिए । सानै उमेरदेखि सिनेमामा आउन मन भएको र यहि कारण नै सेनाको जागिर छोडेको उनी बताउँछन् । उनले सेनामा ६ महिना बिताए अर्थात ६ महिने ट्रेनिङलाई छोडेर सिनेमामा काम गर्न सुरु गरे । उनको पारिवारीक पृष्ठभूमि नै आर्मी भएका कारण उनी आर्मीमा भर्ती भएका थिए । अहिले उनी नेपाली सिनेमाको इतिहासमा एक सफल निर्देशकका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्