विभाग हत्याउन कांग्रेसमा रस्साकस्सी



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा बसिरहेको छ । १४ औं महाविधवेशनको तयारीका सन्दर्भमा र पार्टीका विभागहरुलाई पूर्णता दिनको लागि बसेको बैठक संस्थापन इतर पक्षले भने बैठक बहिष्कार गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा आज (बिहीबार) दिउँसो १ बजेबाट शुरु हुने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अपराह्न साढे ४ बजेबाट शुरु भएको हो । बैठकमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच सहमती नहुँदा रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गर्ने असन्तुष्ट पक्षको चेतावनीलाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले ४ः३० मा बैठक सुरु गर्न निर्देशन दिएका थिए । बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन् ।

यसैगरी कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि देउवाको प्रस्ताव अस्वीकार गर्दै बैठक बहिष्कार गरेका छन् । उनी बैठक शुरु हुनुअगावै निवास तिर लागेका थिए ।

विशेष गरी संस्थापन पक्ष, संस्थापन इतरका रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरु विभागको नेतृत्वमा आ–आफ्नो व्यक्तिलाई ‘सेटल’ गर्ने दाउमा रहेका छन् । यस विषयमा संस्थापन पक्ष र पौडेल, सिटौला पक्षले बेग्लै–बेग्लै भेला गरेका थिए । संस्थापन पक्षको भेला पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको थियो भने पौडेल समूहको भेला शशांक कोइराला निवास महाराजगन्जमा भएको बताइन्छ ।

अहिले पार्टी मुख्यालयमा जारी बैठकमा कार्यसूची प्रस्तुत हुँदैछ । बैठकमा भर्खरै सम्पन्न भएको उपनिर्वाचनका साथै १४ औं महाधिवेशनको विषयमा पनि छलफल हुने भनिएको थियो । यस्तै पार्टीका विभिन्न विभागलाई पूर्णता दिनको लागि पनि छलफल हुने भनिएको थियो । तर, संस्थापन इतरका पौडेल र सिटौला पक्षले बैठक बहिष्कार गरेपछि बैठकले गर्ने निर्णय अन्योलमा परेको छ ।

यसरी छलफल हुने विषयमा संस्थापन पक्ष र संस्थापन इतरको समूहबीच रस्साकस्सी हुने देखिएको छ । पार्टी सभापति देउवा एवं संस्थापन पक्षले १४ औं महाधिवेशनलाई एक वर्षपछि धकेल्न चाहेका छन् भने पौडेल–सिटौला पक्ष जति सक्दो चाडो गारउनु पर्ने पक्षमा रहेका छन् ।
यस्तै विभागको जिम्मेवारीको सन्दर्भमा केही महत्वपूर्ण संगठनको नेतृत्व लिने दाउमा पौडेल– सिटौलाको दाउ रहेको छ । तर, संस्थापन पक्षले सकेसम्म सहमति गर्ने र नभए बल प्रयोग गरेर भए पनि महत्वपूर्ण विभागको नेतृत्व हत्याउने दाउमा रहेको छ । अहिले पार्टीका २८ वटा महत्वपूर्ण विभाग रहेको छ । पार्टी सभापति देउवाले यसअघि पार्टीका अर्का नेता पौडेललाई विभागलाई बढाएर ४५ पुर्याउने प्रस्ताव गरेको थिए । तर पाडेलले उक्त कुरा अस्वीकार गरेका थिए ।

यता पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुन नसक्ने देखिन्छ । संघीय संरचना अनुसार पार्टी संरचना निर्माणको प्रक्रियानै ढिला शुरु गरेका कारण कांग्रेसको नियमित समयमा अधिवेशन हुने सम्भावना टरिसकेको हो ।

कांग्रेसभित्र विभागले पूर्णता नपाइरहेको अवस्थामा पछिल्लो समय यही कुराले पार्टी नेतृत्वबीच बेमेल समेत भएको थियो । सभापति देउवाले ६०–४० को भाग लगाउन खोजिरहेका छन् । तथापी पौडेल–सिटौला समूहले त्यस कुरालाई स्वीकार नगर्ने जनाउ उनीहरुले संस्थापन पक्षलाई दिइसकेका छन् । पौडेल–सिटौला पक्षलाई मनाउनकै लागि सभापति देउवा विभागको संख्या बढाउने पक्षमा पनि देखिन्छन् । विधानमा २८ वटा विभाग गठन गरिने उल्लेख भएपनि यसलाई बढाएर ४५ वटा पु¥याउने प्रस्ताव यस अघि पनि सभापति देउवाले राखिसकेका छन् ।

असन्तुष्टलाई मिलाउन विभागको संख्या बढाउने चलन पहिलेदेखिनै थियो ।

१२औं महाधिवेशनपछि तत्कालिन सभापति सुशील कोइरालाले पनि ३० वटा विभागलाई बढाएर ४२ वटा पु-याएका थिए । त्यही सन्दर्भलाई नजिरको रुपमा लिँदै सभापतिले आफ्नो अनुकुलतामा विभागको संख्या घटबड गर्न सक्छन् भन्ने देउवापक्षिय नेताहरुले तर्क दिँदै आएका छन् भने समयावधी सकिनै आँट्दा विभागको कुनै अर्थ छैन भन्ने पौडेलपक्षको मत छ ।

देउवालाई अहिले पौडेल र सिटौलाको चित्त बुझाएर मात्र नहुने देखिन्छ । उनले १४औं महाधिवेशनमाा उपसभापति विमलेन्द्र नीधि र विजयकुमार गच्छेदार सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेका छन् ।

अहिले नेपाली कांग्रेसको विधानमा संगठन विभाग,अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संवैधानिक कानुन तथा संसदीय मामिला विभाग, संघीय मामिला तथा स्थानीय तह विभाग, सूचना, सञ्चार तथा प्रचार विभाग, पेशागत तथा बुद्धिजीवी विभाग, भाषा, साहित्य, कला तथा संस्कृति विभाग, शिक्षा, विज्ञान तथा प्रविधि विभाग,गैर सरकारी संस्था तथा सामाजिक सेवा विभाग रहेका छन् ।

यस्तै अनुगमन, मूल्याकंन तथा अभिलेख विभाग, उद्योग तथा वाणिज्य विभाग, पर्यटन विभाग, कृषि तथा भूमिसुधार विभाग, युवा तथा खेलकुद विभाग, प्राकृतिक स्रोत, जल तथा ऊर्जा विभाग, शान्ति, सुरक्षा तथा प्रशासन सेवा विभाग, श्रमिक तथा ट्रेड युनियन विभाग छन् । त्यस्तै जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग, स्वास्थ्य विभाग, वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग, आर्थिक नीति तथा योजना विभाग, भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभाग, अन्य पार्टी सम्पर्क विभाग, सहकारी विभाग, भ्रातृ संघ समन्वय विभाग र शुभेच्छुक संस्था समन्वय विभाग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्