पप्पुले अलपत्र छाडेका पुलको ठेक्का रद्द



बुटवल : निर्माण कम्पनी पप्पु/बाम्ती जेभीले तीन वर्षदेखि अलपत्र छोडेका रुपन्देहीका दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय रूपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो। हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबारदेखि ठेक्का सम्झौता रद्द भएको जनाएको छ।

दुई वर्षमा सक्ने भनिएको पुल पाँच वर्षसम्म अलपत्र छोडेपछि पप्पु÷बाम्ती जेभीसँगको ठेक्का सम्झौता रद्द गरिएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले जनाएको छ। बुधबार ती दुईवटा पुलको ठेक्का सम्झौता रद्द गरेको सूचना प्रकाशित गरेको योजना कार्यालयले एक साताभित्र निर्माणस्थल खाली गर्न निर्माण कम्पनीलाई आदेश पनि दिएको छ।

योजना प्रमुख ईश्वरबहादुर रिजालका अनुसार पुल निर्माणको काम छिटो सक्न ठेकेदार कम्पनीलाई गत असारमै पत्राचार गरिएको थियो। तर निर्माण कम्पनीले टेरपुच्छर नलाएपछि भदौमा पुनः स्पष्टीकरण मागियो। स्पष्टीकरण पत्र पाएपछि निर्माण कम्पनीले कामलाई तीव्रता दिने प्रतिबद्धतासहित नयाँ कार्यतालिका आयोजनालाई बुझाएको थियो। तर उसले कार्यकातालिका अनुसार फेरि पनि कामलाई निरन्तरता नदिएपछि ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको रिजालले बताए। ‘निर्माण कम्पनीले पछिल्लो पटक दिएको कार्यतालिकाअनुरूप फिल्डमा काम भएको नदेखिएपछि कानुनबमोजिम नै ठेक्का रद्द गर्ने निर्णयमा पुगेका हौं,’ रिजालले भने। ठेक्का रद्द गरेसँगै आयोजनाले पप्पुलाई कालोसूचीमा राख्न सिफारिस पनि गरेको छ।

आयोजना प्रमुख रिजालका अनुसार ठेक्का सम्झौता रद्द भएपछि जमानत फिर्ताका लागि बैंकलाई चिठ्ठी लेखिसकिएको छ। ठेक्काको बाँकी कामको बजेटको २५ प्रतिशत रकम पनि आयोजनाले निर्माण कम्पनीसँग असुल–उपर गर्नेछ। हालसम्मको निर्माणको भुक्तानीका सम्बन्धमा कार्यालयबाट अनुगमन निरीक्षणको तयारी भइरहेको उनले जानकारी दिए।

बुद्ध जन्मस्थल लुम्बिनी जाने पर्यटकीय मार्गको तिनाउ र दानव नदीमा २०७१ पुस २५ मा पप्पु÷बाम्ती जेभीले पुल निर्माणको ठेक्का लिएको हो। सम्झौताअनुरूप २०७३ असारमै पुल बनिसक्नुपर्ने हो। तर आयोजना होल्ड गरेर सञ्चालन खर्च लगेपछि करिब दुई वर्ष पप्पुले कामै गरेन। तापनि २०७५ असारसम्मका लागि म्याद थप गरियो। दुई वर्षमा सक्ने भनिएका पुलको पाँच वर्षपछिको कार्य प्रगति दानवको २५ र तिनाउको ५० प्रतिशत रहेको बताइएको छ। यी दुईवटै पुलमा २०७५ असारदेखि निर्माणको काम ठप्प थियो। तर आयोजनाले भने एक वर्ष ढिलो गरी बल्ल ठेक्का रद्द गरेको छ।

हुलाकी राजमार्गअन्तर्गतका यी दुई पुल निर्माणमा सुरुदेखि नै भइरहेको लापरवाही र ढिलासुस्तीको नकारात्मक प्रभाव लुम्बिनीको पर्यटनमा परिरहेको छ। किनकि यहाँका पुराना पुल साँघुरा र जीर्ण छन्। जहाँ मालबाहक गाडी र पर्यटकका गाडीहरू जाम लाग्छ। केही दिनअघि रूपन्देही आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै रुपन्देही र नवलपरासीका निर्माणाधीन सडक र पुल निर्माणमा लापरवाही गर्ने जो कसैलाई कारबाही गर्ने बताएका थिए। यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्