आनन्दित रहने सूत्र



काठमाडौं : हामी हरेक दिन खुसी रहन चाहन्छौँ । खुसी हुनलाई धेरै प्रयत्न पनि गरिरहेका हुन्छौँ । तर पनि हामी खुसी हुन सकिरहेका हुँदैनाैं । न त आफू खुसी रहन सकेका हुन्छौँ, न त अरुलाई नै खुसी राख्न सकेका हुन्छौँ । किन यस्तो हुन्छ ? हामीले जीवनभर खोजिरहेको खुसी हामीले किन प्राप्त गर्दैनौँ ? त्यो प्राप्तिका लागि के गर्नुपर्छ ?

उमेरअनुसार खुसी हुने कारण फरक हुन्छ । बच्चा, युवा र वृद्ध बेलाका खुसी हुने कारणबारे एकैछिन विचार गरौँ त ! बच्चामा खुसी हुन केही चाहिँदैन ।

फूल फुलेको देख्दा, पानी परेको देख्दा खुसी भइन्छ । बालबालिकालाई खुसी हुन ठूलो कारण चाहिँदैन । त्यसैले त बच्चाहरु निश्चल हुन्छन् । जब त्यही बालबालिका युवा हुँदै जान्छन्, फूल फुलेको देख्दा खुसी हुन छाड्छ । वृद्ध अवस्थामा त झन् केही कुराले पनि खुसी हुन सकिँदैन । जीवनले हामीलाई यति घोटिसकेको हुन्छ कि केही कुराले पनि छुँदैन ।

किन उमेर बढ्दै जाँदा खुसीको मात्रा घट्छ त ? युवा उमेरमा आफू खुसी हुन अरुलाई खुसी राख्न गरेका प्रयत्नहरु काम लाग्दैनन् कारण के हो त ?

एकै छिन सोचौँ त, हाम्रो सरदर आयु कति छ ? मानौँ ७० वर्षभन्दा माथि । अनि हामीले दैनिक गर्ने कर्महरु हेरौँ त ! के सधैँ सार्थक र उपलब्धिपूर्ण भएर बितेको छ त ? या दुःख, कष्ट, अशान्ति र तनावमा बितेको छ ? यो सबै समयको प्रवाह हो । हामी जन्मेपछि हाम्रो शरीर रहुञ्जेलसम्म हामीले सार्थक र उपलब्धिपूर्ण बिताए पनि अशान्ति र तनावमा बिताए पनि समय व्यतित भइरहेको हुन्छ । समयको प्रवाहलाई कसैले पनि रोक्न सक्दैन । त्यस कारण समय कसरी बित्यो, त्यसको हिसाब किताब गरिरहनुपर्छ ।

प्रगतिमुखी व्यक्तिले हरेक दिन महत्वपूर्ण र सार्थक बनाउन प्रयास गरेको हुन्छ । समयको प्रवाह जसरी नै आफू बगिरहनुपर्छ । समय परिवर्तनशील छ । प्रकृति परिवर्तनशील छ । आनन्दित हुनु छ भने हामी पनि समयअनुसार परिवर्तित हुन जरुरी छ  ।

विगतको कुराको रोइलो गर्ने, भविष्यका कुरालाई लिएर चिन्तित हुने र आत्तिने अधिकांश मानिसको बानी हुन्छ । यस्तो बानी एकदमै हानिकारक हुन्छ । समयको प्रवाहमा बग्नुपर्छ । हिजोका कामबाट शिक्षा लिएर आज काम गर्नुपर्छ । पश्चाताप गरेर रोइलो गर्ने हैन । क्षणक्षणमा हामी कति खुसी भएका छौँ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

मेरो दुस्मन यो हो, यसलाई हटाउनुपर्छ भन्नेमा हामी यति धेरै लागिपरेका हुन्छौँ कि हाम्रो महत्वपूर्ण समय त्यसैमा सकिरहेका हुन्छौँ । हामीले के बुझ्न जरुरी छ, एउटा दुस्मन हटाउँदैमा दुस्मनी सकिँदैन । एउटा हटाए पनि अरु दसवटा निस्कन्छन् । यो मामिलामा हामी सजग हुन जरुरी छ । दुस्मनबाट भाग्ने र हटाउने हैन, मित्रता बढाउने र समयको सदुपयोग गर्ने कुुरा चाहिँ प्रमुख हो ।

मनलाई शान्त बनाउने अचुक उपाय भनेकै भूत र भविष्यलाई छाडेर वर्तमानमा जिउनु हो । हिजो यस्तो भयो, भोलि के होला भन्ने तनावले मन अशान्त हुन्छ । जसै हामी वर्तमानमा जिउन थाल्छौँ, हामी शान्त बन्छौँ । त्यसैले त बच्चाहरु खुसी हुन्छन् । उनीहरु जिन्दगीको हरेक क्षणको रमाइलो लिइरहेका हुन्छन् ।

हरेक क्षणको रमाइलो लिन वर्तमानमा जे भइरहेको छ, त्यसैमा जिउनु हो । वर्तमानमा जिउँदा शान्ति र अशान्तिको अनुभूति हुँदैन । तटस्थ भावबाट हेरिएको हुन्छ । समय जसरी बहिरहेको छ, जीवन पनि त्यसरी नै व्यतित भइरहेको हुन्छ । समयको प्रवाहमा हिँड्नु नै ध्यान हो ।

जब समयको प्रवाहसँगै बग्न थालिन्छ, घटेका घटनालाई तटस्थ भावले हेर्न थालिन्छ, मनमा शान्ति नै शान्ति, आनन्द नै आनन्दले बास गरिसकेको हुन्छ । तर वर्तमानमा बाँच्न भने भनेजसरी सहज हुँदैन । त्यसका लागि आफैँले आफैँलाई नियममा बाँध्न जरुरी छ । मानौं, आज १५ मिनेट भए पनि वर्तमानमा रहेर हेर्‍यौँ भने स्थिर भइन्छ । घटिरहेका घटनालाई साक्षी भावले हेर्नाले कसैप्रति रिस, राग, भय उत्पन्न हुँदैन ।

यसका लागि मनलाई सन्तुलित बनाउन आवश्यक छ । यसका लागि आफ्नो आचारण सुधार्नु जरुरी छ । केही काम गल्ती भयो भने अरुलाई दोष दिने बानी छ भने त्यागी दिनुस् त्यो बानी । अरुको प्रगतिको प्रशंसा गर्नुस्, मीठो बोल्ने, राम्रो नजरले हेर्ने अभ्यासबाटै सुरुवात हुन्छ । यदि अरुको प्रगतिमा मन रमाउँदैन, अरुलाई आदर गरिन्न भने मनमा आनन्द आउँदैन ।

भूत र भविष्यको चिन्ता नगरौँ । वर्तमानमा घटिरहेका घटनालाई साक्षी भावले हेरौँ । आनन्द खोज्न कहीँ जानै पर्दैन, आफैँभित्र पाइन्छ । यो समाचार आजको नागरिक दैनिकमा जीवन विकास विशेषज्ञ रमेश नेपालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्