रोहिंग्या शरणार्थीले नेपालमा बनाए २३ टहरा



काठमाडौं : म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन्। स्थानीय सरकारलाई काम गर्ने मजदुरका रूपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो। उनीहरू त्यसअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए।

‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने– ‘काठमाडौंको बूढानीलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौं।’

सन् २०१८ पछि नेपालमा थप रोहिंग्या नआएका दाबी गर्दै उनले काठमाडौंमा भएका दुई समूहमध्ये आफ्नो समूह काम खोज्ने सिलसिलामा कुशादेवी आइपुगेको बताए।
‘कहींबाट सहयोग छैन, आफ्नै देशबाट निकाला भएका छौं, पेट पाल्नकै लागि यहाँ आएर टहरा बनायौं’, ऐसुपले थपे– ‘२०१३ देखि नेपाल आएर अधिकारका लागि लडिरहेका छौं।

२०१८ सम्म ३ सय ५५ जना रोहिंग्या नेपाल आइसकेका छन्। २०१९ मा सरकारले कडाइ गरेकाले आउनसकेका छैनन्।’ठेकेदार थापाले २०७३ सालदेखि उनीहरूलाई काममा लगाउँदै आएका थिए। उनकै काका सत्यराम थापाको चार रोपनी जग्गा भाडामा लिएर थापाले उनीहरूको समूहलाई कुशादेवीमा ल्याएको हो। थापा ठेक्काको अलावा पेट्रोल व्यवसायी हुन्।

‘शुरूमा काम गर्ने मजदुर भनेर ल्याए, केही दिनमै टहरा बनाइसके’, वडाध्यक्ष किशोर थापाले भने– ‘नगरपालिकासँग र वडासँग अस्थायी टहरा संरचना निर्माणबारे कुनै जानकारी गराइएको छैन।’

२१ टहरा निर्माण भइसकेका छन्। ती टहरामा १२ बच्चा, ९ महिला र १३ पुरुषसहित ३४ जना छन्। २३ वटै टहरा बनेपछि ९० जना बस्ने मोहमद ऐसुपले बताउनुभयो।ती समुदायको मुख्य माग नागरिकता र सम्पत्ति फिर्ता गरी निर्बाधरूपमा म्यानमारमा बस्न पाउनुपर्छ भन्ने छ।

म्यानमार सरकार र यूएनएचसीआरले प्रतिबद्धता जनाए स्वदेश फर्कने उनीहरूले बताएका छन्।म्यानमार सरकारले बंगालीको आरोपमा ११ लाख नागरिकलाई देशनिकाला गरेको थियो। बंगलादेशमा रहेका शरणार्थी एजेन्टमार्फत नेपाल आई शरणार्थीको प्रमाणपत्र लिएका हुन्। २०१२ देखि उनीहरू नेपाल आउन थालेका थिए।

सन् २०१३ मा नेपाल आएका नुर हाफिसले शरणार्थीका रूपमा यूएनएचसीआरले प्रतिव्यक्ति ५ हजार ७ सय ५०, प्रतिमहिला घरको मुलीलाई ३ हजार ७ सय ५० र प्रतिबच्चा २ हजार ७ सय ५० रुपियाँ दिँदै आएको बताए। सन् २०१५ देखि उक्त रकम बन्द गरेपछि रोहिंग्याले आन्दोलन गरेका थिए। उनीहरूका अगुवा हसन सोही क्रममा डेढ महिना जेल परेका थिए।

प्रतिटहरा ७० हजार रुपियाँ लिएर मोहमद ऐसुप, नुर हाफिस, नोमि एद्दिन, आबुल उस्मान र नजिमुल्ल गरी ५ जनाको समूहले टहरा बनाएको हो।नुर हाफिसँग २०१३ मा १४ जना नेपाल आएका थिए। २०१५ मा उनले आफ्नो प्रेमिका नेपाल बोलाएर विवाह गरे। अहिले उनीहरूको एउटा बच्चासमेत छ।

उनीहरूकै आडमा हरेक वर्ष रोहिंग्या समूह नेपाल प्रवेश गरिरहेको छ। एक वर्षका लागि जग्गा भाडामा लिएर बसिरहेको उक्त समूहले सडक, खानेपानी, ढल, भवन निर्माणमा काम गरिरहेको नुर हाफिसले बताए।

उक्त समूहले काभ्रेको काभ्रे उपत्याका एकीकृत खानेपानीको पाइप पुर्ने जिम्मेवारी लिएको उहाँले बताउनुभयो।ग्वार्काे लुभु लामाटार हुँदै पनौती नमोबुद्धको चौकीडाँडा निस्कने सडक निर्माणको कुशादेवी पनौती खण्डको स्तरोन्नति भइरहेको छ। ३३ करोड रुपियाँको उक्त ठेक्का रामेश्वर थापाले लिएका हुन्।

उनले सल्यान, सुर्खेत, नेपालगन्जलगायतका स्थानबाट समेत ३० भन्दा धेरै मजदुर ल्याएका छन्। टहरा निर्माण सम्बन्धमा स्थानीय प्रशासन र स्थानीया सरकर दुवैले चासो व्यक्त गरेका छन्। उनीहरूबाट जन्मिएका बच्चा टहरा सरेसँगै पढाउन समस्या भएको नुर हाफिसले बताए। यो समाचार आथजको नेपाल समाचार पत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्