भारतले कालापानीमा मेसिन ओसार्दा स्थानीयहरु आतंकित



दार्चुला : लिम्पियाधुरा, लिपुलेक र कलापानी क्षेत्रमा भारतले अत्याधुनिक भारबाहक हेलिकप्टर चिनुक प्रयोग गरेर ठूला र आधुनिक मेसिनहरु ओसारिरहेको स्थानीय जनताले बताइरहेका बेला भारतीय पत्रिका ‘हिन्दुस्तान’ दैनिकले पनि यही कुरालाई सार्वजनिक गरेको छ । भारतले लिम्पियाधुरादेखि कालापानी क्षेत्रमा मेसिन र अन्य सामग्री ढुवानीलाई केही समययता निन्तरता दिइरहेको देखिन्छ ।

नेपाल–भारत सीमा अतिक्रमणबारे विवाद बल्झिइरहेका बेला भारतले आकाशे गतिविधिलाई निकै बढाइरहेको छ । भारतको पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाइमैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म तारन्तार चिनूक हेलिकोप्टरमार्फत् सामग्री ढुवानी भैरहेको स्वयम् भारतीयहरु स्वीकार गर्दछन् ।

चिनूक नामको हेलिकप्टर एक ठूलो आकारको भारवाहक सैन्य विमान हो । भारतीय वायुसेनाको ‘हेभी लिफ्टर’ भनेर चिनिने चिनूक हेलिकोप्टर निकै बलियो भरपर्दो सैन्य एयरक्र्याफ्टका रुपमा लिइन्छ । दिनमा प्रायः देखिने यो हेलिकप्टरले सीमा इलाकामा आतंक सिर्जना गराएको छ । यसले देनिक ३÷४ पटक सामान ओसार्ने गरेको छ ।

यो हेलिकप्टर यति भरपर्दो छ कि यसले खराब मौसममा पनि मजाले उडान भर्न सक्छ । हाल पिथौरागढको नैनीसैनी हवाइ मैदानबाट यसले सामान ओसारिरहेको छ । नैनीसैनी हवाई मैदान नेपाल–भारत सीमाको रणनीतिक इलाकामा पर्छ । हाल नैनीसैनी विमानस्थलमा दिल्लीले ७२ सिट क्षमता भएको सैनिक विमान उडान र अवतरणको अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्