देशभर चिसो बढ्यो, यस्ता छन् बच्ने उपाय



काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै स्वास्थ्यमा विभिन्न खालका समस्या आउँछन् । विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई विभिन्न समस्याहरू देखा पर्ने चिकित्सक बताउँछन् । चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ ।

सबैले जाडो मौसममा विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव रहेको छ । चिसो मौसममा देखिने समस्याहरु मध्ये मुटुसम्बन्धी समस्या, चिसोको एलर्जी, छालाको समस्या, हाइपोथर्मिया, रुघाखोकी, ज्वरो, जोर्नीको दुखाई, छातीको समस्या, दम र हृदयघात बढी देखिने गरेका छन् ।

जाडोबाट बच्नका लागि झोलिलो पदार्थ खान जोड दिनुपर्छ । तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफी तथा केहीमात्रामा दुध चिया पनि खान सकिन्छ । लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिन्छ ।

जाडोबाट बच्ने अर्को उपाय भनेको न्यानो कपडाको प्रयोग हो । जाडोमा पर्याप्त न्यानो कपडा लगाउनुपर्छ । बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ । पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ । यसर्थ टोपी, मखलर, मोजा र पञ्जा लगाउन बिर्सीनुहुदैंन ।

Image result for चिसो बढ्यो

आगो ताप्नु अर्को वैकल्पिक उपाय हो । आगो ताप्दा पनि चिसोको असर कम हुन्छ । दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरुले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन ।

तेलले मसाज गर्नु जाडोमा निकै उपयोगी हुन्छ । चिसो समयमा शरीरका विभिन्न भागहरु दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन् । तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाइ कम गर्छ । सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ ।

जाडोबाट बच्ने अर्को उपाय भनेको मर्निङ वाक हो । खासगरी काठमाडौंमा मर्निङवाक गर्नेहरु सचेत हुनुपर्छ । यहाँको वातावरण निकै प्रदुषित भएकाले चिसो समयमा मर्निङवाक गर्दा यसको नकारात्मक असरले विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना रहन्छन् । यसका कारण विहानको समयमा दौडिँदा ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

अर्को उपाय हो, स्वास्थ्य जाँच । चिसोबाट घरेलुरुपमा बच्ने कोशिष गर्दा उपलब्धि नभएमा, रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । यसका साथै, सरसफाइमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्