न्यायिक समितिमा घरबेटी र डेरावालका उजुरी धेरै



काठमाडौं : काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा घरबेटी र डेरावालका उजुरी धेरै पर्ने गरेका छन् । प्रायः ‘घर कोठा खाली गराई पाऊँ’ भन्ने उजुरी परेका छन् । 

न्यायिक समितिलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई खासगरी मेलमिलापमार्फत निरूपण गर्ने तथा आवश्यक कारबाही गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ । जसअनुसार काठमाडौं महानगरमा उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ । 

कानुन अधिकृत हरिमाया घिमिरेका अनुसार घरबेटी र डेरावालाले एक–अर्काविरुद्ध उजुरी दिने गरका छन् । ‘डेरावाल लामो समयसम्म घर कोठा खाली नगरी गायब हुँदा घरबेटीले उजुरी हाल्ने गरेका छन्,’ कानुन अधिकृत घिमिरेले भनिन्, ‘घरबेटीले सम्झौता उल्लंघन गरेपछि डेरावालले पनि घरबेटीविरुद्ध उजुरी हाल्छन् ।’

समितिमा असार मसान्तसम्म एक सय ८४ उजुरी परेका छन् । जसमध्ये अधिकांश घर–कोठासम्बन्धी छन् । जसमा यस्तै प्रकृतिका ९५ उजुरी परेका थिए । 

४० उजुरीमा कारबाही भइसकेको छ भने ४५ विचाराधीन छन् । यस्तै, दोस्रोमा सम्बन्धविच्छेदका उजुरी छन् । समितिका अनुसार यस्ता ७० उजुरी आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्