हिमाली ताप्लेजुङमा हिमपात शुरु



ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा हिमपात शुरु भएको छ । आज दिउँसो सामान्य वर्षासँगै हिमपात शुरु भएको हो ।

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोका कारण बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरूपमा चिसो बढेको स्थानीयवासीको भनाइ छ ।

पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज धनराज तुम्बापो लिम्बूले जानकारी दिए ।

पाथीभरा मन्दिर तीन हजार ७९४ मिटरको उचाइमा पर्छ । उनका अनुसार आज दिउँसोदेखि नै हल्का वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ परेको हो ।

प्रतिक्रिया दिनुहोस्