विज्ञापन व्यवसायीलाई करको दायरामा ल्याउन कानून



बुटवल : प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले बर्दिया जिल्ला अस्पतालको अध्यक्षमा गुलरिया नगरपालिका–६ का अङ्गद श्रेष्ठ र महिला सदस्यमा मोहनकुमारी फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गिरीले जानकारी दिए ।

यस्तै पाल्पाको रामपुर अस्पतालको अध्यक्षमा रामपुर नगरपालिका–३ का बासुदेव शर्मा र महिला सदस्यमा ईश्वरीदेवी खनाललाई र तानसेनस्थित तानसेन अस्पतालको अध्यक्षमा तानसेन नगरपालिका–१४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा तानसेन नगरपालिका–४ की सुशीलादेवी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ । साथै, नवलपरासीको पृथ्बीचन्द्र अस्पतालको महिला सदस्यमा सरिता पौडेल नियुक्त भएका छन् ।

यस्तै बैठकले प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्तर्गतको रुपन्देहीको सिद्धार्थनगरमा र बाँकेको कोहलपुरमा पर्यटन कार्यालय स्थापना गरी एक जना उपसचिवको नेतृत्वमा सात÷सात जना कर्मचारी रहने व्यवस्थासमेत गरेको मन्त्री गिरीले जानकारी दिए ।

बैठकले प्रदेशमा जुनसुकै प्रकृतिको विज्ञापन व्यवसाय गर्ने व्यवसायीलाई करको दायरामा ल्याउन विज्ञापन तथा तत्सम्बन्धी व्यवसायको नियमन गर्न र विज्ञापन सङ्कलन गर्न बनेको नियमावलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यो नियमावली स्वीकृतसँगै अब प्रदेश सरकारले विज्ञापन व्यवसायमा कर निर्धारण र सङ्कलन गर्न स्थानीय तहलाई बाटो खुला भएको छ । स्थानीय तहले यसबापत सङ्कलन गरेको जम्मा करको ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्