सरकारले ६९ हजार उपभोक्तासम्म पुर्‍यायो खानेपानीको पहुँच



काठमाडौं : सरकारले आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै ६९ हजार उपभोक्तामा खानेपानीको पहुँच विस्तार गरेको छ । यो अवधिमा उच्च/मध्यमस्तरका खानेपानीका आयोजना सम्पन्न हुँदा खानेपानीको पहुँच विस्तार भएको हो ।

यो अवधिमा सात वटा उच्च र मध्यमस्तरको खानेपानीको आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

गत आवको अन्त्यसम्ममा खानेपानीको पहुँच ८९ दशमलव १ प्रतिशत रहेकामा त्यसलाई बढाउँदै लैजाने योजना रहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

उनका अनुसार आगामी तीन वर्षमा खानेपानीको पहुँच शतप्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । सरकारले निर्माण गरिरहेका ठूला र मध्यमस्तरका आयोजना समयमै सम्पन्न हुँदा खानेपानीको पहुँच विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो । उनले भने, “खानेपानीको पहुँच सबै जनतामा चाँडो पु¥याउन हामी क्रियाशील छौँ ।”

खानेपानीको पहुँच विस्तारसँगै घरघरमा खानेपानी पु¥याउने मन्त्रालयको योजना छ । अहिले झण्डै २२ प्रतिशत घरमा व्यक्तिगत धारा भएको अनुमान गरिएको छ । तीन वर्षभित्रमा एक घर एक धारा पु¥याउने लक्ष्य लिइएको शाक्यले बताए । सरकारको र दातृ निकायको सहयोगमा निर्माणाधीन ठूला लगानीका खानेपानी आयोजनाले खानेपानीको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खानेपानीको पहुँच विस्तारका लागि तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम शहरी खानेपानी व्यवस्थापन सुधार आयोजना मार्फत निर्माण र सुधारका काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्