५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा



काठमाडौं : ५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरूलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरू कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरू गत साता न्यूनतम धरौटीमा छुटेका हुन् । 

घर्तीविरुद्ध ५७ करोड ४४ लाख आठ हजार चार सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । उनी चार लाख धरौटीमा छुटेका छन् । 

१६ करोड ७४ लाख २० हजार बिगो दाबीसहित मुद्दा दायर गरिएका ऋणी पोखरेल ५ लाख धरौटी राखेर छुटेका छन् । यस्तै, १६ करोड ८२ लाख ६५ हजार बिगो दाबी गरी मुद्दा दायर गरिएका ऋणीहरू प्रमोदकुमार पाँच लाख र अजयकुमार तीन लाख धरौटीमा छुटेका छन् ।

किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सिइओ० कमलप्र्रसाद ज्ञवालीको नेतृत्वमा बैंकमा अनियमितता भएको थियो । ज्ञवाली दुई महिनाअघि पक्राउ परेपछि सिआइबीले पुरानो घटनाको अनुसन्धान गरी २६ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

तीमध्ये पक्राउ गरी ५७ करोड जरिवाना र १० वर्षसम्म कैद सजायको माग दाबी गरिएको मुद्दाका आरोपीहरू न्यूनतम धरौटीमा छुटेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्