कर्मचारीप्रति सरकार आक्रामक



काठमाडौं : समायोजनको विरोधमा उत्रिएका कर्मचारीविरुद्ध सरकार आक्रामक भएको छ । सामाजिक सञ्जालमा अध्यादेशविरुद्ध जथाभावी लेख्ने कर्मचारीलाई ‘साइबर क्राइम’ सम्म मुद्दा चलाउने तयारी सरकारले गरेको छ ।

आचरण र अनुशासन बेबास्ता गर्दै सामाजिक सञ्जाल, पत्रपत्रिकामा लेख रचना छाप्ने र विरोध प्रदर्शनमा उत्रने निजामती कर्मचारीको अभिलेख राख्न थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेशकुमार अधिकारीका अनुसार केही कर्मचारीले उच्छृंखल गतिविधि तथा मन्त्री र सचिवविरुद्ध गालीगलौज गरी स्टाटस लेखिरहेका हुँदा त्यस्ता गतिविधि नगर्न सूचित गरिएको छ ।

उनले अनुशासन र आचरणविपरीत माइतीघर मण्डलमा प्रदर्शन गरिरहेकाले कर्मचारीलाई सचेत गराइएको बताए । निजामती कर्मचारी युनियन (संघ)को नेतृत्वमा सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए ।

सरकार, मन्त्री, सचिवलगायतको गरिमामा आँच आउने उच्छृंखल, अनुचित, गैरजिम्मेवार, अनुशासनहीन र पेसागत मर्यादाविपरीत स्टाटस, विचार, तस्बिर राख्नेलगायत अवाञ्छित क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

कर्मचारीले आचरण र अनुशासन ख्याल नगरी निजामती सेवामा नरहेजस्तो गरी मन्त्री, सचिवलगायतलाई पद, वर्ण, जात र समुदाय समेत जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखिरहेको उनको भनाइ छ ।

यस्ता भ्रामक र दुराशयपूर्ण क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती ऐन, नियमावली, सुशासन ऐन, नियमावली र विद्युतीय ऐनबमोजिम कारवाही गर्ने उनले चेतावनी दिए ।

सहसचिव अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यादेशबमोजिम समायोजनमा सहभागी हुनसमेत सम्पूर्ण निजामती कर्मचारीसँग आह्वान गरेका छन् । आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्